कांग्रेस नेता डा. पोखरेलको घोषणाः राष्ट्रिय जनमोर्चालाई मत माग्दिनँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.गोविन्दराज पोखरेलले गठवन्धनबाट राष्ट्रिय जनमोर्चाले टिकट पाए आफूले रुख चिन्हमा मात्र मत माग्ने बताएका छन्।

प्युठानबाट आगामी आम निर्वाचनको लागि प्रतिनिधिसभा सदस्य दावी गरेका उनले शनिबार सामाजिक सञ्जालमार्फत लेख्दै यस्तो जानकारी दिएका हुन्।

बाहिर आएका गठबन्धनका समाचार सही भएमा प्युठानी जनताका बीच रुख चिन्हमा पार्टी र पार्टीको उम्मेदवारलाई मात्र मत माग्न आउने उनले जानकारी दिएका छन्। उनले राजमो र त्यसको चुनाव चिन्ह गिलासमा भोट नमाग्ने बताएका छन्।

गठबन्धनबाट राजमो उपाध्यक्ष दुर्गा पौडेललाई उम्मेदवार बनाउनेगरी सहमति भइसकेको छ।

पोखरेलले समाजिक सञ्जालमा यस्ताे लेखेका छन्–

प्युठानका धेरै साथीहरुको फोनको स्पष्ट जवाफ दिन गाह्रो भएको धेरै दिन भयो। राजनीतिक रुपले विभिन्न दिशामा फर्केका दलको चुनावी गठवन्धनको रस्साकस्सी चलेकै छ। प्रारम्भिक सुचना अनुसार प्युठानको संघीय प्रतिनिधिसभाको उम्मेदवार गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाले पाउने अनुमान गर्न सकिन्छ। प्युठानबाट संघमा प्रत्यक्ष उम्मेदवारका लागि नेपाली कांग्रेस प्युठानले मेरो, दुईजना पुर्व सभापति( सुवासजी, अमरजी), पुर्व जिल्ला सचिव (शिवजी) लगायत ६ जनाको नाम शिफारिस गरेको थियो।

२०७४ को संघीय निर्वाचनमा वाम गठबन्धनको तर्फबाट राजमोकी नेतृ दुर्गा पौडेलले नेपाली कांग्रेसको उम्मेदवार मलाइ पराजित गर्नुभएको थियो। अहिले उहाँ नै नेका-वाम गठबन्धनबाट फेरि उम्मेदवार हुने चर्चा छ। यसपटक उहाँ हामीसंग गठबन्धन गरी २०७४ को गठवन्धनको सबैभन्दा ठुलो दल एमालेसंग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। यी सबै परिदृष्य अहिले गठवन्धनको रस्साकस्सी चलिरहँदा बाहिर अनौपचारिक रुपमा आएका समाचारका आधारमा गरिएका अनुमानहरु हुन्।

म २०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार हुँदा करिब ३१२८६ भन्दा बढी प्युठानी दाजुभाइ दिदीबहिनीहरुले मलाई माया गरी मत दिनुभएको थियो। त्यसपछि म प्युठानका ६४ मध्ये ६३ वडामा पटकपटक दाजुभाइ दिदीबहिनीहरुको घरआगनमा पुग्ने मौका पाए। मेरो उम्मेदवारीका लागि सिफारिस पनि भएको र जनताको सुखदुखमा आफुले सकेसम्म सहभागि भएकोले धेरैले फेरि पनि म नेपाली कांग्रेसबाट उम्मेदवार भई आओस् भन्ने इच्छा गरेको पाएको छु। तर अनौपचारिक रुपमा बाहिर आएका समाचारका आधारमा म फेरि रुख चिन्ह लिएर उम्मेदवार भई आउने सम्भावनामाथि प्रश्न चिन्ह लागेको छ। तर औपचारिक समाचार नआउँदासम्म सम्भावना छँदैछ।

यदि बाहिर आएका गठवन्धनका समाचार सहि भएमा म प्युठानी जनताका बीच रुख चिन्हमा पार्टी र पार्टीको उम्मेदवारलाई मात्र मत माग्न आउने छु। नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन विनम्र अनुरोध पनि गर्दछु। तपाईंहरुको दुखसुखमा सधैँ साथ रहनेछु। मलाई अन्य किसिमले प्युठानमा संघीय उम्मेदवार हुनुहोस भन्ने धेरै शुभेच्छुक र साथीहरुको प्रस्तावमा म पार्टीको केन्द्रीय सदस्य भएकोले गम्भीर छु तर प्रस्तावलाई सकारात्मकरुपले लिएर उपायहरु खोज्दै छु। यस बीचमा केहि नयॅा परिदृष्यको विकास भएमा अवस्य जानकारी गराउने छु।
जय प्युठान!!! जय नेपाल !!!

प्रकाशित मिति: : 2022-10-01 11:08:00

प्रतिकृया दिनुहोस्