संविधानको रक्षा गर्न सरकार निरन्तर क्रियाशील छ: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको मर्म र भावनालाई जनताको जीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका छन्। 

मुलुकमा लोकतन्त्रिक प्रणालीलाई थप मजबुत पार्ने तथा संविधानको रक्षा र पालना गर्ने काममा निरन्तर क्रियाशील र प्रतिबद्ध रहेको उनको भनाइ छ।

आठौं संविधान दिवसका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले आगामी निर्वाचनबाट संविधानले आत्मसात् गरेको लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यता तथा सबैको हक र अधिकार व्यावहारिक रुपमा स्थापित हुने उल्लेख गरेका छन्।

‘संविधानको कार्यान्वयन गर्दै हाम्रा साझा हक अधिकारलाई स्थापित गर्ने तथा मातृभूमिको विकास र समुन्नतिलाई सुनिश्चित गर्ने दिशामा सदा झैँ सम्पूर्ण नेपाली नागरिकको साथ, सहयोग र समर्थन प्राप्त हुने विश्वास लिएका छन्,’ उनको भनाइ छ।

देउवाले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गरेका छन्।

प्रकाशित मिति: : 2022-09-19 07:05:00

प्रतिकृया दिनुहोस्