जबरालाई कुनै पार्टीले बोक्नु गलतः पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ

पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कुनै पार्टीले बोक्न नहुने तर्क गरेका छन्। 

प्रतिनिधिसभाको महाभियोग सिफारिस सिमितिले बिहीबार अधिवक्ताहरूलाई बोलाएर गरेको छलफलको क्रममा पूर्वन्यायाधीवक्ता श्रेष्ठले गलत प्रवृत्तिको प्रोत्साहन गर्दा आफैंलाई नोक्सान हुने बताएका हुन्।

‘कुनै अमुक पार्टीले बोक्नु हुँदैन। यो त एउटा इतिहास हो। गलत काम गर्नेलाई इतिहासले माफ गर्दैन। संविधान फाल्ने हो भने महाभियोग पास नगरे हुन्छ तर संविधान जोगाउने हो भने महाभियोगको यो कदमबाट पछि हट्नु हुँदैन। यो संविधान जोगाउने कसरत हो। अहिलेसम्म जबराले गरेका फैसला हेर्ने हो भने संविधानलाई कसरी तोडमरोड गरिएको छ भन्नेबारे थाहा हुन्छ,’उनले भने।

३५ बुँदे अभियोगमा दुईरचार मुद्दा उल्लेख गरेको भन्दै उनले ती मुद्दामा निलम्बित प्रधानन्यायाधीश जबराले ठूलो मात्रामा लेनदेन गरेको आरोपसमेत लगाएका छन्।

कतिपय मुद्दामा कागज भएको र कतिमा चेक लिएको उनको आरोप छ। उनको कारण वकिलले न्यायाधीशलाई कारबाही गर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ।

‘अदालत रहे न बार रहन्छ। बारले चासो राख्ने नै अदालत हो। अदालतमा जग्गा दलाल जस्तै दलालहरू हाबी भए। एउटा न्यायाधीशले अर्को न्यायाधीशलाई घुस खान पनि बिचौलिया सिर्जना गरियो,’ उनले भने।

प्रकाशित मिति: : 2022-09-15 20:21:00

प्रतिकृया दिनुहोस्