दाङ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माओवादी नेता कृष्णबहादुर महरा पुनः सिफारिस भएका छन्।
उनीसहित अन्य दुई जनाको नाम सिफारिस गरिएको छ।
महरासहित केन्द्रीय सदस्य नारायणी शर्मा ‘प्रतिक्षा’ र प्रदेश सचिवालय सदस्य लुमबहादुर कार्की ‘बद्री’को नाम सिफारिस गरिएको माओवादी केन्द्रका जिल्ला इन्चार्ज निर्मल आचार्यले बताए।
महरा यसअघि रोल्पा र दाङ क्षेत्र नं.२ बाट पनि सिफारिस भएका छन्। महरा ०७४ सालको निर्वाचनमा क्षेत्र नं.२ बाट उम्मेदवार बनेका थिए।
त्यस्तै माओवादीले प्रदेश क्षेत्र नम्बर १ (क) तर्फ इन्द्रजित थारु, लुमाकान्ता न्यौपाने, बिरेन्द्र चौधरी र धर्मराज अधिकारीको नाम सिफारिस गरेको छ।
यस्तै प्रदेश क्षेत्र नम्बर १ (ख) तर्फ दामा शर्मा, रामप्रसाद घिमिरे, बसन्तराज अधिकारी, बाबुराम चौधरी, कालिराम चौधरी, गंगा पाण्डे र भीमबहादुर ओलीको नाम सिफारिस गरिएको आचार्यले बताए।
माओवादीले अहिले उम्मेदवार सिफारिस नाम टुंग्याउन लागि परेको छ। दाङबाट एमाले, कांग्रेस र नेकपा एसले उम्मेदवार सिफारिसको नाम टुंग्याइसकेका छन्।