चोलेन्द्रको बयान : सहकर्मीमाथि लाञ्छना 

प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले चौथोपटक आइतबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिएको छ।

सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यालयमा आइतबार उनको बयान लिइएको हो। गत १ फागुनमा जबराविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो।

संसदले गठन गरेको समितिले आइतबार जबरासँग भ्रष्टाचार, अनियमिततासहितका २४ वटा प्रश्न गरेको छ। समिति सदस्यहरुले अदालतमा भएका भ्रष्टाचार, अनियमितताका विषयमा प्रश्न गरेका समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए।  तर, जवाफ दिने क्रममा जबराले सहकर्मी न्यायाधीशमाथि लाञ्छना लगाउने कार्य आइतबार पनि जारी राखेको विश्वकर्माले बताए। 

‘यसअघि जस्तै आज पनि उहाँले समकक्षी, सहकर्मीप्रति लाञ्छना लगाउने कार्य जारी राख्नुभयो,’ उनले भने, ‘उहाँकै बयानले पनि अभियोग पुष्टि गरिरहेको छ।’

यसअघिका तीन बैठकमा ११ वटा प्रश्न गरेको समितिले आइतबार जबरासँग २४ वटा प्रश्नको जवाफ खोजेको छ। बयानका लागि ४३ वटा प्रश्न तयार गरेको समितिले ३५ वटा प्रश्न सोधिसकेको छ।

जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको थियो। उनले बयानका क्रममा आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको औचित्य नै सकिएको दाबी गर्दै आएका छन्।

गत १ फागुनमा सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका सांसदले उनीविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए। महाअभियोग दर्ता भएसँगै उनी प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका हुन्। 

प्रकाशित मिति: : 2022-09-11 17:39:00

प्रतिकृया दिनुहोस्