आम निर्वाचनः प्युठानमा कुन दलबाट काे–काे सिफारिस

प्युठानमा आगामी आम निर्वाचनको लागि प्रतिनिधिसभा र प्रदेशसभाका लागि सबै दलहरुले आ–आफनो नाम उम्मेदवारका रुपमा सिफारिस दिइसकेका छन्।

प्रतिनिधिसभाको लागि एक निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि दुई क्षेत्र रहेको प्युठानमा अबको निर्वाचन रोचक हुने देखिएको छ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापा प्युठानबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् भने राष्ट्रिय जनमोर्चाले केन्द्रीय उपाध्यक्ष एवम् प्रतिनिधिसभा सांसद दुर्गा पौडेलको नाम सिफारिस गरेकाे छ। उनलाई उठाउने राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिले नै  निर्णय गरिसकेको छ।

त्यस्तै नेपाली कांग्रेसबाट डा. गोविन्दराज पोखरेल, खिमान सिंह रायमाझी, शिव रिजाल, अमर प्रसाद भण्डारी, सुवास केसि, बिरेन्द्र थापा र निमा गिरिको नाम सिफारिस भएको छ तर डा. गोविन्दराज पोखरेलको भने बलियो सम्भावना देखिएकाे छ।

त्यसैगरी सत्ता गठबन्धनमा रहेको माओवादीले भने एक–दुई दिनभित्र नाम टुङ्गाउने   जिल्लाका एक पदाधिकारीले बताए।

प्युठानमा प्रत्यक्षतर्फ प्रदेशसभा (क) बाट एमालेको लुम्बिनी  प्रदेश सचिवालय सदस्य तुलसीराम शर्मा र प्रदेशसभा (ख) बाट केन्द्रीय सदस्य एवम् प्युठान जिल्ला सह ईन्चार्ज हरिप्रसाद रिजालको एकल नाम सिफारिस भएको छ।

त्यस्तै जनमोर्चाले भने केहि दिनपछि मात्र प्रदेशसभाका लागि नाम टुङ्गाउने एक केन्द्रीय पदाधिकारीले बताए।

त्यस्तै नेपाली कांग्रेसबाट प्रदेशसभाका लागि प्रदेशसभा (क) बाट हुकुमबहादुर बिष्ट, मानबहादुर ओली, रामचन्द्र पाैडेल, नारायण ज्ञवाली, दिपक केसी, जेन्टिल गाैतम र भरतकुमार श्रेष्ठ छन् भने (ख) बाट क्षेत्रीय सभापति रोज राणा, नेता मेनुका घिमिरे, सालिग्राम पण्डितकाे नाम बाहिर आएको छ। 

सत्ता गठबन्धनको दल जनमोर्चाले प्युठान र बागलुङ आफूले जित्ने भन्दै दाबी गरेकाले कांग्रेसको इतर समूहका पोखरेललाई टिकट मिल्न मुस्किल रहेको छ।

प्युठान सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाको प्रभावित क्षेत्र हो। जहाँ २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट दुर्गा पौडेल निर्वाचित भएका थिए।

प्रकाशित मिति: : 2022-09-05 17:45:00

प्रतिकृया दिनुहोस्