महाभियोग प्रकरण : सिफारिस समितिले जबरासँग भदौ १५ मा बयान लिने

संसदले गठन गरेको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको छ।

बुधबार बसेको समिति बैठकले जबरालाई १५ भदौ बुधबार बयानका लागि बोलाउने निर्णय गरेको हो।

गत १ फागुनमा सत्तारुढ दलका सांसदले जबराविरुद्ध महाभियोग संसदमा दर्ता गरेका थिए। महाभियोगबारे अध्ययन गर्न प्रतिनिधिसभाले गठन गरेको ११ सदस्यीय समितिको बैठकले १९ भदौभित्र प्रतिनिधिसभालाई प्रतिवेदन बुझाउने कार्यतालिका पारित गररेको छ। जसका लागि १२ भदौसम्म प्रमाण जुटाउने र अध्ययन गर्ने समितिले निर्णय गरेको छ।

१ फागुनमा सत्तारुढ दलका सांसदले विभिन्न २१ वटा आरोप लगाएर जबराविरुद्ध महाभियोग दर्ता गरेका थिए। यसपछि २२ फागुनमो महाभियोग सिफारिस समिति बनाएको प्रतिनिधिसभामा २९ फागुनमा पेस गरिएको थियो। २२ साउनमा महाभियोग प्रस्तावमाथि सैद्धान्तिक छलफल गरेर महाभियोग सिफारिस समितिमा पठाइएको थियो।

समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य छन्।

प्रकाशित मिति: : 2022-08-24 16:49:00

प्रतिकृया दिनुहोस्