गृहमन्त्री रमेश लेखकले आफू जातीय विभेद र छुवाछुतविरुद्ध सँधै प्रतिवद्ध रहेको दाबी गरेका छन्।
बिहीबार प्रतिनिसभा बैठकमा उनले सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारबीचको अन्तरजातीय विवाहको विषयमा आएका समाचारको बारेमा स्पष्टिकरण दिएका हुन्।
उनले यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ र नेपाली कांग्रेस जन्मकालदेखि नै जातीय विभेद र छुवाछुतको विरुद्धमा रहेको पार्टी भएकोले आफू पनि यसमा प्रतिवद्ध रहेको दाबी गरे।
उनले भने, ‘अन्तरजातीय विवाहलाई राज्यले संरक्षण गर्नुपर्छ भन्नेमा प्रतिवद्ध छु। समाचारमा आएजस्तो गृहमन्त्रीको निर्देशनमा अत्याचार भयो भन्नु सरासर कपोकल्पित र असत्य हो। यस विषयमा कहिँकतै त्रुटी भएको देखिए छानबिन र कानुनबमोजिम कारबाही गर्ने कुरा विश्वास दिलाउँन चाहन्छु।’
उनले तथ्यहरूलाई तोडमोड गरेर समाजलाई अनावश्यक रुपमा विभाजनमा धकेल्ने मनसायका साथ समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमहरूलाई आग्रह गरे।
सत्येन्द्रकुमार र नेहाको अन्तरजातीय विवाह छुटाउँन गृहमन्त्री र प्रहरीकै मिलेमतो रहेको दाबी गर्दै समाचारहरू प्रकाशित भएका थिए।
सत्येन्द्रकुमार रामविरुद्ध बाल विवाहको कसुरमा गत कार्तिक २५ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ।
त्यसपछि ३ पुसमा मात्र कपिलवस्तु जिल्ला अदालतमा सत्येन्द्रकुमार राम र स्नेहा रौनियारबिच विवाह दर्ता भएको थियो। अहिले सत्येन्द्रकुमारविरुद्ध बालविवाहको कसुरमा जिल्ला अदालत सर्लाहीमा मुद्दा विचाराधिन अवस्थामा छ। उनी ३० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्।