प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार कांग्रेसको वैचारिकीमा प्रश्न उठाएका छन्।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न गरेका हुन्।
‘प्रधानमन्त्री केपी ओलीजी विरोध त परको कुरा, रचनात्मक आलोचना पनि सहन सक्नुहुन्न। यो पटकपटक प्रमाणित तथ्य हो। उहाँले सक्नुभयो भने सिंगो देशलाई आफ्नो पार्टी नेकपा (एमाले) जस्तै एकदमै प्रश्नमुक्त, एकदमै आलोचनामुक्त र खासमा एकदमै विवेकमुक्त बनाउन चाहनुहुन्छ। त्यसैले उहाँ अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक र प्रेस स्वतन्त्रतालाई कुल्चन प्रयत्नरत हुनु म अनौठो मान्दिनँ,’ प्रचण्डले भने।
त्यस्तै उनले ओलीले यस्तो प्रयास प्रधानमन्त्रीकै रुपमा यसअघि पनि पटकपटक गरिसकेकोले उनलाई भन्दा कांग्रेसलाई प्रश्न गर्ने बताए।
उनले भने, ‘मेरो प्रश्न छ, नेपाली कांग्रेसलाई। के हो यो सामाजिक सञ्जाल नियमन विधेयक? के हो यसमा नेपाली कांग्रेसको आधिकारिक धारणा? हिजो त तपाईंहरु यसको विपक्षमा उभिनुभएको थियो। आज कता हुनुहुन्छ? तपाईहरू सत्ताका लागि मात्रै सहकार्यमा हुनहुन्छ कि राजनीतिक दृष्टिकोणमैं परिवर्तन आइसकेको हो? कि कांग्रेसलाई पनि ओलीजीलाई जस्तै प्रश्नमुक्त र विवेकमुक्त नेपाल चाहिएको हो? के हो तपाईहरूको वैचारिकी?’
माओवादीसँग गठबन्धनमा हुँदा निर्वाचनपूर्वको गठबन्धन पाप हो भन्ने कांग्रेस नेताहरूको अहिले बोली फेरिएको उनले बताए।
‘कांग्रेस एक्लै लड्छ, अब रुखबाहेक अन्त भोट हाल्दैन भनेर ती साथीहरूले धेरै ताली खाए। पछिल्ला दिनमा एमालेमा अब देशमा जम्मा दुईवटा दल हुने हो र एक्लाएक्लै लडेर स्थायी सरकार बनाउने हो भन्ने विचारक पनि थपिए। देशबाट अब सदाका लागि गठबन्धनको राजनीति अन्त्य भयो भन्दै तपाईहरूले नयाँ सत्तागठबन्धन गर्नुभयो। तर, गत स्थानीय निकायको उपचुनावमा के भयो? गठबन्धनमात्र होइन, एकअर्कालाई आफ्ना चुनावचिन्ह भाडामा पनि दिनुभयो।’
कांग्रेसमा पहिले सुनिने गठबन्धन विरोधी गनगन र करकर यसपटक कतै नसुनिएको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले भने, ‘पत्रकार र अरु व्यावसायिक संस्थाका चुनावमा पनि अद्भुत एकताका साथ कांग्रेस र एमालेबीच गठबन्धन भयो। तपाईंहरूलाई लागेको थियो, यति भएपछि माओवादी सकिन्छ। सकियो त? सकिएन बरु लगभग पहिलो पार्टीका रुपमा पुनरोदय भयो।’