उर्लाबारीका व्यवसायीले गराए मेयरको ध्यानाकर्षण

आउँदै गरेको चाडपर्वलाई मध्यनजर राख्दै उपभोक्ता र उद्योगी व्यवसायीको हित अनुकूल गर्नुपर्ने कार्यका बारेमा उर्लाबारी उद्योग वाणिज्य संघले स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ।

सोमबार वाणिज्य संघका पदाधिकारी र सल्लाहकार सम्मिलित टोलीले विविध सात बुँदे ध्यानाकर्षणपत्र उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेललाई बुझाएको हो ।

फुटपाथमा बन्द व्यापार गर्ने व्यवसायीको व्यवस्थापन गरिनुपर्ने, रात्रीकालीन बजार राति १० बजेसम्म संचालनका लागि शान्ति सुरक्षाको प्रबन्ध गर्नुपन ध्यानाकर्षण पत्रमा उल्लेख छ।

उर्लाबारी–मधुमल्ला सडक खण्डमा गुड्ने ट्याक्टर ट्रिपरहरुका लागि बैकल्पिक बाटो निर्धारण गरिनुपर्ने तथा मधुमल्ला-टाँडी बस स्टेण्डलाई नयाँ बसपार्कमा स्थान्तरण गर्नपनि व्यवसायीले सुझाएका छन्। अनाधिकृत रुपमा माइक बजाएर सामान बेचविखन गर्ने कार्य बन्द गराउनपनि उनीहरुले माग राखेका छन्।

संघका अध्यक्ष शेरबहादुर भण्डारी नेतृत्वमा रहेको टोलीमा महासचिव हेमराज गुरुङ, बरिष्ठ उपाध्यक्ष यामलाल रसाइली, उद्योग उपाध्यक्ष जंगबहादुर कार्की, सदस्य नितम चौहान, पुर्व अध्यक्षहरु भरत भट्टराई, तेजकुमार रिजाल, प्रितम खड्गीलगायतको उपस्थिति रहेको थियो। नगरप्रमुख खरेलले ध्यानाकर्षण पत्र बुझ्दै उद्योगी व्यवसायीको मागलाई यथाशिघ्र कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे।

यसैबीच उद्योग वाणिज्य संघले सार्वजनिक प्रयोगमा ल्याइएका प्लाष्टिकजन्य सामग्रीको उन्मुलन गर्न शिपमुलक कार्यक्रमको कार्ययोजना ल्याएको छ। नगरपालिकाका प्रमुख खरेललाई कार्ययोजना बारे संघले अवगत गराएको छ।

बाँसबाट निमार्ण हुने सामग्रीले प्लाष्टिकजन्य सामग्रीलाई विस्थापन गर्ने भन्दै संघले आयोजना गर्ने शिपमुलक तालिमलाई सघाउ पुर्याउन आग्रह गरिएको वाणिज्य संघका महासचिव हेमराज गुरुङले जानकारी दिए।

तालिमबाट स्थानीय उत्पादनको प्रबद्धन हुने, स्थानीय स्तरमै रोजगारी सिर्जना गरिनेपनि संघको अवधारणा पत्रमा उल्लेख छ।

सार्वजनिक स्थलमा रहेका प्लाष्टिकका डस्विन हटाउन अभिप्रेरित गर्ने भन्दै बाँसबाट बनेको थुन्चेलाई डस्विनका रुपमा प्रयोग गर्न सकिने संघले जनाएको छ। संघले दुई थान थुन्चेपनि नगरपालिकालाई प्रदान गरेको छ।

प्रकाशित मिति: : 2022-08-22 17:05:00

प्रतिकृया दिनुहोस्