कर्णाली प्रदेशमा पहिलो कार्यकालमै बने २० जना मन्त्री

कर्णाली प्रदेशको पहिलो कार्यकाल पूरा नहुँदै मन्त्री बन्नेको संख्या दुई दर्जन नजिक पुगेको छ। हालसम्म प्रदेश सरकारमा दुईजना मुख्यमन्त्रीसहित २० जना मन्त्री बनेका छन्।

सबैभन्दा धेरै मन्त्री माओवादी केन्द्रबाट बनेका छन्। माओवादीबाट एकजना मुख्यमन्त्रीसहित सातजना मन्त्री बनेका छन्।

माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाही प्रदेशको पहिलो मुख्यमन्त्री हुन् भने उनको दलबाट हालसम्म विमला केसी, सीताकुमारी नेपाली, नरेश भण्डारी, गोपाल शर्मा, छिरिङ डम्डुल लामा, विन्दमान विष्ट र गणेशप्रसाद सिंह मन्त्री भइसकेका छन्।

माओवादीले गैरसांसदलाई समेत मन्त्री बनाएको छ। उसले प्रदेशसभा सदस्य नरहेका छिरिङ डम्डुल लामालाई मन्त्री बनाएको हो। उनको ६ महिने कार्यकाल सकिएको छ।

मन्त्री बनाउनेमा एकीकृत समाजवादी दोस्रो नम्बरमा छ। एकीकृत समाजवादीबाट ६ जना मन्त्री बनेका छन्।एमालेमा छँदै प्रकाश ज्वाला र नन्दसिंह बुढा मन्त्री बनेका थिए।

त्यसपछि फ्लोर क्रस गरेर बुढासहित कुर्मराज शाही र अम्मरबहादुर थापा मन्त्री बने भने एमालेबाट टुक्रिएर एकीकृत समाजवादी बनिसकेपछि चन्द्रबहादुर शाही र पदम रोकायले पनि मन्त्री बन्ने अवसर पाइसकेका छन्।

कांग्रेसबाट मुख्यमन्त्री जीवनबहादुर शाहीसहित दिनबन्धु  श्रेष्ठ, यज्ञबहादुर बुढाक्षेत्री र हिमबहादुर शाही मन्त्री बनेका छन्। सामाजिक विकासमन्त्री बुढाक्षेत्री दोस्रो पटक मन्त्री बनेका हुन्।

एमालेबाट दल रावल र खड्कबहादुर खत्री मन्त्री बनेका छन्। उनीहरु एमाले र माओवादीको संयुक्त सरकार हुँदा मन्त्री बनेका थिए। कर्णाली प्रदेशको दोस्रो कार्यकालका लागि आगामी ४ मंसिरमा निर्वाचन हुँदैछ।
 

प्रकाशित मिति: : 2022-08-22 15:24:00

प्रतिकृया दिनुहोस्