गैरआवासीय नेपाली नागरिकताको पक्षमा कि विपक्षमा एमाले ? 

राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको नागरिकता संशोधन विधेयकसँगै गैरआवासीय नेपाली नागरिकताको व्यवस्था पनि फिर्ता भयो । यो निर्णयले वर्षौदेखि एकपटकको नेपाली सधैंको नेपाली भन्ने सपना बोकेर विदेशमा रहेका नेपालीको सपनामाथि तुषारापात भयो । तर, यही निर्णयको एमालेले स्वागत गर्यो ।

यसको अर्थ के एमाले गैरआवासीय नेपाली नागरिकताको पक्षमा नभएको हो त ? प्रश्न उठेको छ । तर, यस बारेमा परदेशमा रहेका एमालेहरूको संस्था प्रवासी नेपाली मञ्चले मुख खोलेको छैन ।

घरदेशमा नागरिकता विध्यक राष्ट्रपतिले फिर्ता गर्दा स्वागत गर्ने एमाले र परदेशमा गैरआवासीय नेपाली नागरिकताको प्रावधान नै कोपभाजनको शिकार हुँदा मौन बस्ने प्रवासी नेपाली मञ्चको रबैया देखेर गैरआवासीय नेपालीहरूमा एक किसिमको रोष पैदा भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपाली नागरिकताको प्रावधानसमेत रहेको  नागरिकता संशोधन विधेयक फिर्ता गर्दा एमालेले यस कदमको स्वागत गर्यो । यसले एमाले गैरआवासीय नेपाली नागरिकताको विपक्षमा छ  भन्ने सन्देश गएको छ । 

अमेरिकाका एक गैरआवासीय नेपाली भन्छन्, ' गैरआवासीय नेपाली नागरिकताको प्रावधानका बारेमा एमालेले  आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ । यदि एमाले यसको पक्षमा हो भने उसले नागरिकता विधेयकमा व्यवस्था भएका कुन कुन प्रावधानको विपक्षमा हो भन्ने प्रष्ट पार्नुपर्थ्यो । त्यसो नगर्दा ऊ समष्टीमा गैरआवासीय नेपाली नागरिकता  प्रावधानको विपक्षमा रहेको अर्थ लाग्छ ।

यसो त एमाले दोहोरो चरित्रका लागि वदनाम छ । सर्प देख्दा दुला बाहिर हात, भ्यागुत्तो देख्दा दुलो भित्र हात पार्ने एमालेेले गैरआवासीय नेपाली नागरिकताको प्रावधानका बारेमा पनि ट्रायल बलुन गरिरहेको हुन सक्छ । उसले गैरआवासीय नेपाली नागरिकताको प्रावधानलाई पनि के गर्दा फाइदा हुन्छ, त्यही गर्नका लागि पत्ता नखोलेको हुन सक्छ ।

प्रकाशित मिति: : 2022-08-19 04:42:00

प्रतिकृया दिनुहोस्