विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्थानीय निर्वाचनको समयमा सरकारी गाडी प्रयोग नगर्ने प्रतिबद्धताका साथ निर्वाचित भए। तर, निर्वाचित भएको तीन महिनामै उनले सरकारी गाडी प्रयोग गर्ने बताएका छन्।
मेयर कोइरालेले तीन महिना आफूले निजी गाडी प्रयोग गरेको बताएका छन्। निजी गाडीमा महानगरबाट प्राप्त हुने तेल प्रयोग गर्दा बेरुजु देखाउने भएकाले पुनः सरकारी गाडी प्रयोग गर्ने कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा जारी गरेको सार्वजनिक सूचना उल्लेख छ।
‘गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका क्रममा मैले सरकारी गाडी प्रयोग नगर्ने निर्णय गरेको थिएँ। निर्वाचित भएर आइसकेपछिको करिब तीन महिना मैले आफ्नै निजी गाडी प्रयोग गरे,’ कोइरालेले भनेका छन्, ‘मेरो निजी गाडीमा महानगरबाट प्राप्त हुने तेल प्रयोग गर्दा पछि गएर बेरुजु देखाउने रहेछ। यसका साथै लामो समयसम्म गाडी नचलाउँदा प्राविधिक समस्या आउने र पछि त्यसको मर्मत गर्दा महानगरकै ठूलो रकम खर्च हुने भएकाले महानगरकै गाडी प्रयोग गर्ने निर्णयमा पुगेको छु।’
यस्तै उनले महानगरका जनप्रतिनिधि, कर्मचारी, प्राविधिक र शुभेच्छुकबाट महानगरकै गाडी प्रयोग गर्न बारम्बार सुझाव आएको र सुझाव नकार्न सक्ने अवस्था नभएको समेत उल्लेख गरेका छन्।
‘यो विषय सामान्य भए पनि हरेक कुरा पारदर्शी हुनुपर्छ भन्ने विचारबाट म सधैं अभिप्रेरित भएकाले महानगरवासीलाई यस विषय जानकारी गराउन उपयुक्त ठानेर अबदेखि मेरो निजी कामबाहेक महानगरकै गाडी प्रयोग गर्ने यहाँहरु सबैलाई अवगत गराउन चाहन्छु,’ सूचनामा उल्लेख गरिएको छ।