जनताको पैसा लुटेर भाग्ने सहकारीलाई कारबाही खै ? (भिडियोसहित)

उमेश थापा

काठमाडौं
Breaknlinks
Breaknlinks

सहकारीहरू विकृति र विसङ्गतिको दलदलमा फस्दै गएका छन्। यहाँ भएका अनेकौं बेतिथि वर्षौदेखि ज्युँका त्युँ छन्। हालै मात्र कुलेश्वरको गौतमश्री बहुउद्देशीय सहकारी संस्था लिमिटेड भागेको खबरले सबैलाई त्रसित बनाएकाे छ। मुलुकभर झन्डै ३५ हजार सहकारी छन। तर, पछिल्लो समय तिनको अवस्था शिथिल बन्दै गएको छ।

कतिपय सहकारीहरूले २२ प्रतिशतसम्म ब्याजमा कर्जा लगानी गरिरहेका छन। जसले गर्दा सहकारी सञ्चालनमा यतिखेर समस्या बल्झिएको छ। सहकारीमा भएको मनोमानी मौलाउँदो छ। नियमविपरित चर्को ब्याज लिने, प्रलोभनमा पारेर बढी पैसा उठाउन खोज्नु उनीहरुको दिनचर्या हो, जसबाट आमनागरिक आजित भइसकेका छन।

सहकारी क्षेत्रमा भएको बेथिति र अहिले देखिएको प्रवृत्तिलाई उठाउँदै सहकारी विभागका सूचना अधिकारी टोलराज उपाध्यायसँग बिएल नेपाली सेवाका उमेश थापाले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ: 


सहकारीलाई तपाईंले कसरी बुझ्नुहुन्छ ?

पहिले– पहिले एउटा परिवार र समाज मिलेर पैसाको कारोबार हुन्थ्यो। त्यतिखेर एक आपसमा पैसा चलाइथ्यो। त्यसपछि सहकारी संस्था दर्तामा आए। हामीले यस कार्यालयबाट नै सहकारी दर्ता गरिदिने हो। हालसम्म नेपालमा ३० हजारभन्दा धेरै सहकारी संस्था दर्ता भएका छन। सहकारी र जनता एकअर्कासँग प्रत्यक्ष रुपमा जोडिएका छन्।

सहकारीले सदाबहार जनतालाई सेवा सुविधा दिने काम गर्नुपर्छ। सहकारी संस्थाहरुले जनताको बचत जथाभावी लगानी गर्नु हुँदैन्। 

सहकारीमा भएको बेथितिलाई कसरी हेर्नुभएको छ ?

पछिल्लो समय सहकारीलाई कोरोनाले धेरै प्रभाव पारेको छ। सहकारी डुब्छन् भनेर खैलाबैला मच्चिएको छ। सहकारीमा सञ्चालक समितिको ठुलो भूमिका हुन्छ तर सञ्चालक समिति नै नियमविपरित चल्दा विकृति बढेको हो। नेपाल राष्ट्र बैंकले लगाएको अन्य बैंक जस्तै नीतिनियम सहकारीमा लागू गर्दा बेतिथि कम हुने मेरो विश्वास छ।

सहकारीको भागाभाग सुरु भएको सुन्नमा आएको छ, जनताको पैसा डुबेको हो ?

मेलै भनिसकेँ कि सहकारी संस्थाहरुले आफैंले मात्र सहकारी सञ्चालन गरिसकेपछि यस्तो दिन आउँछ। नेपालमा सहकारीहरु भागाभाग त भएको छ जस्तो त लाग्दैन। यहाँ २५ देखि ३५ वर्ष पुराना सहकारीहरु पनि छन्।

जुन सहकारी संस्थामा सम्पूर्ण कार्यसमिति सदस्यहरु बसेर काम गर्छन् त्यो सहकारी डुब्ने चान्स हुँदैन्। जनताको लागि नै त हो सहकारी विभाग। यहाँ आएर उजुरी दिएपछि हामी त्यस सहकारी संस्थाको सम्पत्ति रोक्का गर्ने, अनुगमन र निगरानी गर्छौ। यसले सहकारीलाई एउटा परिधिभित्र बस्न सिकाउँछ।

सहकारी डुब्नुको मुख्य कारण मिटर ब्याज, घर जग्गा, निजी सवारीमा लगानी गरेर हो भन्ने बुझिन्छ ?

सहकारी संस्थाहरुले पहिला सुरुमा नै कुन क्षेत्रमा लगानी गर्ने हो भनेर अध्ययन गर्नुपर्छ। महँगो ब्याज र चाँडो प्रतिफल पाउने लोभमा परेर जथाभावी लगानी गर्नु हुँदैन। जनताहरुले रगत पसिना गरेर कमाएको पैसामाथि रजाइँ गर्ने हक सहकारीलाई छैन।

जनताहरुको निकै पैसा फसेको छ नि सहकारी संस्थामा ?

पहिला सुरुमा जनताहरुले पनि पैसा राख्नुभन्दा अगाडि विचार गर्नुपर्छ। काठमाडौंमा मात्रै १० हजारभन्दा बढी सहकारी संस्थाहरु छन्। तर, बचतकर्ताहरु बढी ब्याजको लोभमा आएर फसेको देखिन्छ। ब्याजको लोभमा पर्नुअघि अरु सहकारीहरुले पनि कति ब्याज दिएको छ मूल्याकंन गर्नुपर्ने छ।

अन्तिममा सहकारी संस्थालाई के भन्न चाहानुहुन्छ ?

सहकारी संस्था देशको खम्बा हो। पछिल्लो समय कोभिडले पनि त्यति नै असर पारेर क्षेत्र हो, यो। सहकारी संस्था डुब्न नदिनको लागि सम्पूर्ण कार्यसमितिका मानिसहरु नियमित बसेर छलफल र सहकार्य गर्नुपर्छ। लगानी गर्ने क्षेत्रको बारेमा विशेष अध्ययन र अनुगमन मात्र गरेर लगानी लगाउनुपर्छ।

भिडियाे:

प्रकाशित मिति: : 2022-08-14 22:10:00

प्रतिकृया दिनुहोस्