जन अफ केनेड हत्या प्रकरण :

ट्रम्पले सार्वजनिक गरेको ८० हजार पृष्ठको प्रतिवेदनमा के होला?

Break n Links
Break n Links

अमेरिकाले आफ्ना एकजना पूर्व राष्ट्रपति जन एफ केनेडीको हत्याबारे अनुसन्धान गरिएको एउटा फाइल सार्वजनिक गरेको छ। 

चुनावी अभियानका बेला ट्रम्प आफैले केनेडीसँगै उनका भाई रोबर्ट एफ केनेडी र नागरिक अधिकारका अभियान्ता मार्टिन लुथर किङ्ग जुनियरको हत्याबारे गरिएका अनुसन्धान प्रतिवेदनहरू सार्वजनिक गर्ने बाचा गरेका थिए। 

त्यसलगत्तै उनले संघीय अनुसन्धा ब्यूरोलाई उक्त फाइल सार्वजनिक गर्नका लागि कार्यकारी आदेश जारी गरेका थिए। 

यसलाई उनले अमेरिकी नागरिक पारदर्शिता र सत्यको पक्षमा छन् भनेर विश्वलाई चिनाउने एउटा उपयुक्त समय आएको बताएका छन्। 

तर हत्या भएको लगभग ६२ वर्षपछि अमेरिकाले त्यो फाइल किन सार्वजनिक गर्‍यो भन्ने कुरा झनै रहस्यले भरिएको छ। 

यसलाई त्यो हत्याकाण्डसँग जोडिएको अन्तिम फाइल भनिएको छ। तर यसअघि पनि पटक पटक गरेर अनुसन्धानका लागि लगभग ९९ प्रतिशत तथ्यहरू सार्वजनिक भइसकेका छन्। 

अमेरिकी राष्ट्रपति ट्रम्पले अनुसन्धानको यो अन्तिम फाइल आफूहरूले बिनाकुनै ‘सम्पादन’ जस्तको त्यस्तै सार्वजनिक गरेको र त्यसलाई धैर्य गरेर पढ्न पनि भनेका छन्। 

‘यो निकै रहस्यले भरिएको छ’ उनले भनेका छन् ‘तपाईं हामी सबैलाई विश्वास छ कि हामी धैर्यताका साथ त्यसलाई पढ्नेछौं र सत्य जान्ने छौं।’
त्यो लगभग ८० हजार पृष्ठ लामो अनुसन्धान प्रतिवेदन हो। 

सन् १९६३ नोभेम्बर २५ मा तत्कालीन अमेरिकी राष्ट्रपति जन एफ केनेडी एउटा राजनीतिक अभियानमा थिए। त्यो बेला उनको आफ्नै डेमोक्र्याट पार्टिभित्रका उदारपन्थी र कट्टरपन्थीहरूबीच तनाव चलिरहेको थियो। र केनेडी त्यही विवाद मिलाउनका लागि टेक्सासको भ्रमणमा थिए। 

टेक्सासको डाल्लासमा उनी छतबिनाको कारमा आफ्नी श्रीमति र अरु सहयोगीहरूसँगै यात्रा गरिरहेका थिए। ठूलो संख्यामा सुरक्षाकर्मीको ‘स्कर्टिङ’मा रहेका उनलाई अचानक गोली लाग्यो र उनी श्रीमतीको काखमै ढले। 

तत्कालै अस्पताल पुर्‍याइए पनि उनलाई अस्पतालले मृत घोषणा गरिदियो। त्यसको दुई दिनपछि वासिङ्टनमा राजकीय सम्मानसहित उनको अन्त्यस्टी गरियो। उनको अन्त्यस्टीमा लाखौं अमेरिकी नागरिक सडकमा निस्किएका थिए। 

उनिमाथि गोली प्रहार भएको केही क्षणमै सुरक्षाकर्मीले एकजना २४ वर्षीय युवकलाई पक्राउ गरे। ती युवा हार्भी ओसवाल्ड नामका थिए। उनले केनेडीमाथि गोली हानेको स्वीकार गरे। तर उनले आफूलाई ‘मूर्ख’मात्रै भएको बताएका थिए। 

ती युवा पहिला अमेरिकी सेनामै कार्यरत थिए। १७ वर्षमै सेनामा भर्ती भएका उनी तीन वर्ष सोभियत संघमा बसेका थिए। त्यसपछि रुसी श्रीमतीसहित भागेर उनी डाल्लासमै बस्दै आएका थिए। उनले त्यहीँ रहेको टेक्सस स्कुलमा काम गर्थे। अनुसन्धानले त्यही बिल्डिङको छतबाट उनले गोली हानेको खुल्न आयो। 

तर त्यसको दुई दिनपछि ओसवाल्डको हत्या भयो। कारागारभित्रै लैजादैं गर्दा उनलाई पत्रकारहरूले घेरेका थिए। त्यहीबीचमा ओसवाल्डमाथि गोली प्रहार भयो। ओसवाल्डमाथि त्यहीँका एकजना रेस्टुरेन्ट सञ्चालक ज्याक रबीले गोली हानेका थिए। अदालतले रबीलाई मृत्युदण्डको सजाय सुनाएको थियो। तर मृत्युदण्ड पाउने दिन नआउँदै क्यान्सरसँग लडिरहेका रबीको पनि जेलमै निधन भयो। 

४३ वर्षको उमेरमा विश्व शक्ति राष्ट्र अमेरिकाको राष्ट्रपति बन्न सफल केनेडी निकै लोकप्रिय र चर्चित राष्ट्रपति मानिन्छन्। 

‘देशले तिमीलाई के दिनसक्छ भनेर नसोध, तिमीले देशलाई के दिनसक्छौं भने सोध’ भन्ने उनको भनाइ विश्व राजनीतिक पाठ्यक्रममा समेत सभावेश छ। 

राजनीतिमा आउनुअघि उनी वायु सेनाका एकजना कमाण्डर थिए। उनका बाबु एकजना आलु ब्यापारी थिए। पछि राजनीतिमा आएर उनी विभिन्न देशमा अमेरिकी दूत भएर काम गरेका थिए। केनेडीको राष्ट्रपतीय कालमै अमेरिकामा अश्वेत (काला जाति)हरूले विभेदविरुद्धको आन्दोलन थालेका थिए। 

केनेडी मारिएको पाँच वर्षपछि उनका एकजना भाई रोबर्ट केनेडीको पनि गोली हानेर हत्या भयो। उनी पनि राष्ट्रपतिको चुनावी अभियानमा थिए। दोस्रा भाई टेड केनेडी पनि एउटा कार दुर्घटनामा मारिएका थिए। त्यस्तै केनेडीका छोरा जन एफ केनेडी जुनियरले उडाइरहेको जहाज एटलान्टिक महासागरमा खसेको थियो। 

मार्टिन लुथर किङ जुनियर पनि सन् १९६८ अप्रिल ४ मा हत्या भएको थियो। नोबेल शान्ति पुरस्कार समेत जितेका लुथर त्यो बेला ३९ वर्षका थिए। मानवअधिकारको क्षेत्रमा विश्वव्यापी चर्चा कमाएका उनी एक अभियान्ता थिए र एउटा आन्दोलनबाट फर्किएर घरमै बिश्राम गरिरहेका थिए। दोस्रो तलाको एउटा कोठाभित्र बसिरहेको अवस्थामा उनिमाथि गोली प्रहार भएको थियो। 

अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबिआई) र सरकारले गठन गरेको वारेन आयोग(अर्ल वारेन, अमेरिकाका तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित अनुसन्धान आयोग) ले तयार गरेको प्रतिवेदनले पनि ओसवाल्डलाई दोषी देखाएको छ। 

तर त्यसका कतिपय तथ्यहरू अझै प्रस्ट भइसकेका छैनन्। केनेडी हत्यापछि विकसित घटनाक्रमहरूले पनि थप प्रश्नहरू जन्माएका थिए। अहिले पनि कतिपय अमेरिकीहरू प्रतिवेदनको त्यही निष्कर्षलाई स्वीकार्न तयार छैनन्।  

प्रकाशित मिति: : 2025-03-19 09:09:00

प्रतिकृया दिनुहोस्