विचार मिल्ने पार्टीसँग चुनावी तालमेल हुन्छ : सुवास नेम्वाङ

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले विचार मिल्ने पार्टीसँग चुनावी तालमेल हुने बताएका छन्।

प्रेस चौतारी नेपाल दाङले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष नेम्बाङले भने, ‘सरकारले निर्वाचनको मिति तोकेको छ, यो स्वागत योग्य छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विचार मिल्ने पार्टीसँग चुनावी तालमेल गरेर निर्वाचनमा होमिन्छौं।’

लामो अस्थिरताको अन्त्य निर्वाचनबाट हुने भन्दै उपाध्यक्ष नेम्वाङले जनादेशबाटै गलत प्रवृत्तीलाई निमिट्यान्न पार्ने बताए। गलत बाटोबाट पार्टीमा विभाजन ल्याउनुका साथै ११ महिनादेखि एमालेले दर्ता गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा राखिनु गलत रहेको भन्दै उपाध्यक्ष नेम्वाङले यी सबै गलत कदमको अन्त्य जनादेशबाट गर्ने बताए।

सर्वोच्च अदालत कायम मुकायम प्रधानन्यायाधीशको भरमा चलाउनु लज्जाको विषयको भएको बताउँदै उपाध्यक्ष नेम्वाङले प्रधानन्यायाधीशमाथि लगाइएको महाभियोग नटुंग्याएर सरकारले गलत गरेको बताए।

‘प्रधानन्यायाधीशलाई महाभियोग लगाएर लामो समयसम्म सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको भरमा चलाइएको छ’, नेम्वाङले भने, ‘संसदमा दर्ता भएको महाभियोगको विषयमा छलफलै नगरी मुलुकको सर्वोच्च निकाय सर्वोच्च अदालत यति लामो समयसम्म कामु प्रधान न्यायाधीशको भरमा चलाइनु लज्जाको विषय हो।’

पाँच दल मात्र नभई दश दल भएर आए पनि एक्लै सामना गर्ने ताकत एमालेसँग भएको भन्दै उपाध्यक्ष नेम्वाङले एमालेका विरुद्ध गठबन्धन हुनुले निर्वाचन पहिले नै एमालेको आधा जीत भइसकेको बताए।

‘गठबन्धन आफैँमा संसदीय मूल्य, मान्यताविपरीत छ, यो आफैमा अपवित्र छ’, उपाध्यक्ष नेम्वाङले भने, ‘एमालेसँग एक्लै लड्ने हैसियत कसैले राख्दैनन् भन्ने प्रमाणित भएको छ। एमालेविरुद्ध जुन गठबन्धन भएको छ, यसले एमालेको आधा विजय भएको हामीले ठानेका छौं।’

सत्ता स्वार्थमा लिप्त हुँदै देशलाई श्रीलंकाको बाटोमा हिडाउन गठबन्धनका नेताहरू लागिपरेको भन्दै नेम्वाङले यो कार्यशैलीलाई परास्त गर्दै बलियो राष्ट्रिय शक्तिका रूपमा रहेको एमालेलाई काम गर्ने वातावरण बनाउन निर्वाचनका माध्यमबाट जनताले फैसला गर्नुपर्ने बताए।

‘देशको अग्रगमनका लागि हामीले नयाँ जनादेशको कुरा गर्दा अराजनीतिक पार्टी, राष्ट्रघाती भन्नेहरु टाउको जोडेर जनताको बीचमा भ्रमको खेती गरिरहेका छन्। जनताले उनीहरुको कार्यशैली र गतिविधिलाई बुझेका छन्’, उपाध्यक्ष नेम्वाङले भने, ‘जसले राष्ट्र र राष्ट्रियताका लागि सरकारमा बसेर काम गर्यो, जनताको जनजीविकालाई माथि उठाउन समाजमा योगदान दिन खोज्यो, उसलाई जनताले रुचाइरहेका बेलामा अपवित्र गठबन्धन गर्नेहरूले रुचाएनन्। आखिर देशलाई यस्तो अवस्थामा ल्याउनका लागि रहेछ भन्ने आज प्रमाणित भएको छ।’

प्रकाशित मिति: : 2022-08-06 12:29:00

प्रतिकृया दिनुहोस्