जनार्दन शर्मा सिंहदरबार फर्किने भएपछि पाेखरा भागे सचिव

फाइल तस्विर
फाइल तस्विर

नेकपा (माओवादी केन्द्र) नेता जनार्दन शर्मा पुन: अर्थमन्त्रीमा नियुक्त भएपछि अर्थसचिव मधु मरासिनी शर्मा पाेखरा हिँडेका छन्।

तत्कालीन अर्थमन्त्री शर्मासँग हित्तचित्त नमिलेको भनिएका अर्थसचिव शर्मा फेरि अर्थ मन्त्रालयमा जनार्दन नै फर्किने निश्चित भएपछि आज बिहानै पाेखरा हानिएकाे मन्त्रालयका कर्माचारीहरूले जानकारी दिएका छन्।

बजेट भाषणको अघिल्लो दिन जेठ १४ गते राति मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गराएर अर्थमन्त्री र सचिवले करका दर हेरफेर गराएकाे भन्दै विराेध भएपछि बिदामा बस्ने निर्णय गरेका मरासिनी जनार्दन शर्माले राजीनामा दिएकाे भाेलिपल्ट मन्त्रालय फर्किएका थिए। यसरी मन्त्रीलाई दाेषी देखाएर उम्किन खाेजेका सचिव जनार्दन मन्त्री हुने थाहा पाएपछि पाेखरातर्फ लागेका हुन्।

यसले मन्त्री र सचिवबीच टसल रहेको विगतको आशंकालाई बल पुर्याएको कर्मचारीहरु बताउँछन्।

आर्थिक वर्ष २०७९/८० काे बजेट निर्माणका क्रममा मन्त्रालयमा अनाधिकृत व्यक्तिहरू छिराएर करकाे दर हेरफेर गरेकाे भन्दै चाैतर्फी आलाेचना भएपछि शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए। साेही दिन सभामुख अग्नी सापकाेटाले ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनाएर छानबिन गर्न निर्देशन दिएका थिए। १७ दिन लगाएर विशेष समितिले तयार गरेर प्रतिवेदनमा अर्थमन्त्री शर्मा निर्दाेष ठहरिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पुन: नियुक्ति गरेका हुन्।

शर्माले आइतबार नै राष्ट्रपति भण्डारीबाट शपथ लिने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: : 2022-07-31 17:00:00

प्रतिकृया दिनुहोस्