नेकपा मसाल समन्वय समितिका संयोजक हुन्, सन्तबहादुर नेपाली। नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि कार्यरत नेकपा मसालका नेता नेपालीलाई मसालले अनुशासनको कारवाही गरेको थियो। कारवाहीपछि केही समय स्वतन्त्र रहेका थिए।
केही समयपछि कारवाहीमा परेका समूहहरू मिलेर संघर्ष गर्ने उदेश्यले राष्ट्रिय जागरण अभियान चलाएर आन्दोलनमा अन्तरसंघर्ष गरिरहे। पछि वार्ता चलिरह्यो र उनीहरूसंग वार्ता नमिलेपछि उनीहरूको समूहले नेकपा मसाल समन्वय समिति नामको पार्टी खोलेर आन्दोलित छन्।
मसाल र नेपालको कम्युनिष्ट आन्दोलनसंग सम्बन्धित रहेर नेकपा मसाल समन्वय समितिका संयोजकसंग बिएल नेपाली सेवाका लागि ध्रुव बस्यालले गरेको कुराकानी प्रस्तुत छ :
लामाे समयसम्म संघर्ष गर्नुभएकाे पार्टीबाट छुट्टिनु भएकाे छ। पक्कै पनि कुनै उदेश्य राखेर नै तपाईंहरू मसालबाट छुट्टिनु भएको होला, यो अवधिमा के गर्नुभयो?
हामी कुनै उदेश्यले छुट्टिएका हैनौँ। ८औँ महाधिवेशनमा मसालका महामन्त्री मोहन विक्रमजीले दक्षिणपन्थी, पुँजीवादी विचार लिएकाले फरक मत राखेका हौँ। महाधिवेशनमा उठेका विषयहरूमा वैचारिक बहस, अन्तर्क्रिया र विवाद हुने गर्छन्। त्यसलाई अन्तिम विकल्पमा कुनै प्रक्रियाबाट समाधान हुने गरी टुङ्गो लगाइएको हुन्छ। त्यही निर्णयलाई पछिको विषय मान्नुपर्ने हुन्छ। त्यो उहाँहरूमा पाइएन। त्यही विषयमा फरक विचार राख्नेहरूलाई कारवाही गरियो। काम गर्न दिइएन।
कारवाहीपछि हामी केही सिमित व्यक्ति मात्र रह्यौँ। कारवाही निरन्तर चलिरह्यो, फरक मत आइरहयो। त्यसपछि जनमत भइसकेपछि चुप लागेर बस्ने अवस्था रहेन। हामी विचार मिल्ने र कारवाहीमा परेकाहरूले संघर्षका लागि संगठन खोल्नुपर्ने देखिएर पहिले सम्पर्क समितिबाट काम चलाइरहेका थियौँ, पछि समन्वय समिति गठन गरेर अगाडि बढिरहेका छौँ।
हामीले मोहनजीलाई पटक-पटक भन्यौँ, पार्टीभित्र फरक मत रहन्छ। मतभेद रहने बित्तिकै कारवाही गर्नु हुँदैन, काम गर्ने अवसर दिनुपर्छ भनेर पटक-पटक अनुरोध गरेका हौँ। पार्टीभित्र फरक मत राख्ने बित्तिकै कारवाही गर्नु हुँदैन थियो। अहिलेसम्म एउटा विचार समिति चलाइरहेका छौँ, अब बाध्यताले क्रान्तिकारी विचारको रक्षाको लागि विशेष महाधिवेशन गर्ने तयारीमै छौँ।
मसालभन्दा फरक बन्न पार्टी छोडेर जाँदा पनि जनताले रूचाएनन्, स्थानीय तहको निर्वाचनमा पनि हार्नुभयो। भनेपछि तपाईंहरूलाई जनताले पत्याएनन् नि! अब के गर्नुहुन्छ?
जनताले पत्याउने/नपत्याउने भन्ने विषय फरक हो। जनता कस्तो प्रवृतिका छन्, चुनावको बेला देखिसक्नुभएको छ। जसले भोजभतेर, मासु-रक्सी खुवाउँछ, पेट्रोल हाल्दिन्छ, पैसा दिन्छ मान्छेहरू पनि त्यतै थुप्रिन्छन्। एउटा वडामा निर्वाचन जित्नको लागि कम्तिमा ५०-६० लाख खर्च गर्नुपर्ने बाध्यता रहेको छ। खर्च नगरे चुनाव जितिँदैन रहेछ। हामी पैसा खर्च गर्न सक्दैँनौ। हामी त एउटा विचारको रक्षाका लागि निर्वाचानमा सामेल भएका हौँ।
हामीले चुनाव हारे पनि निकै ठुलाे उपलब्धि मानेको छौँ। जित्नु मात्र ठुलो कुरा होइन। मोहनजीले हाम्रो राजनैतिक जीवन नै सखाप पार्नको लागि यो सबै गरेपनि विभिन्न राजनीतिक दल र निर्वाचन आयोगले समेत हाम्रो पार्टीको स्वतन्त्र उम्मेदवारलाई मान्यता दियो। जनता माझ परिचित भयौं, यो मुख्य कुरा हो। निर्वाचन हो हार-जित भैहाल्छ नि! हाम्रो मुख्य उधेश्य पार्टीलाई पुनःगठन गर्नु हो। जित्ने/हार्नेसंग खासै महत्व दिएका छैनौँ।
मसालबाट छुट्टिएर जानुभयाे तर उनीहरूभन्दा फरक के गर्नुभयो त?
हामी सामान्य रूपले हेर्दा फरक देखिँदैनौँ। हाम्रो लक्ष्य भनेको नयाँ जनवादी व्यवस्था ल्याउने र साम्राज्यवादको विरोध गर्नु हो। पार्टीको आन्तरिक निति भनेको समाजवादमा जानका लागि हामीले बलको प्रयोग गरेर भएपनि नयाँ जनवादमा जाने कुरा गरिरहेका छौँ। नत्र प्रतिक्रियावादी शक्तिहरूले सजिलै आफ्नो शासन सत्ता जनतालाई छोड्न सक्दैन।
मोहनजीहरूको निति भनेको समाजवादी निति लागु गरेर मात्र समाजवादमा जान सकिन्छ भन्ने हाे। मुख्य समस्या भनेको दलाल, नोकरसाही पार्टी भन्दै आइरहेको नेपाली कांग्रेससंगको मिलाप र सहकार्य हो। एक/दुई सिट जित्नकै लागि वर्ग दुश्मनसंग मिलेर जानु हुँदैन। फरक यति बुझेपछि मात्र पनि देखिन्छ।
मसालबाट छुट्टिएर धेरैजस्तो नेताहरू अरू पार्टीमा जान्छन्, तपाईंहरू कुनै पार्टीमा जाने वा अरू कुनै बाटो छ?
अहिले महामन्त्रीले व्यापक रूपमा यसको प्रचार र चासो लिएको देखिन्छ। हिजोको मसाल छोडेर जानेहरू र कारवाहीमा परेकाहरू दुई/चार महिनापछि कतै विलय भए, उहाँहरूको पनि बाटो त्यही हो भन्नुभएको छ। अझ एमालेमा विलय हुन्छन् भन्ने जस्तो भविष्यवाणी गर्नुभएको छ। हामीलाई प्रतिगामीको आरोपसमेत लगाउनुभएको छ। आम जनतामा यस्तो सन्देश प्रवाह भइरहेको सत्य हो।
हिजोका नवराज सुवेदी, दिलाराज आचार्य, राम सिंहलगायतका अवसरवादी व्यतिहरूसंग हामीलाई तुलना गर्नुभएको छ। जहाँसम्म कि हाम्रो तुलनामा पहिले छुटेर जानेहरू राजनैतिकभन्दा पनि व्यक्तिगत र व्यवहारिक कारणले पार्टी छोडेर गएका हुन्। मोहन विक्रम र चित्रबहादुर केसीसंग हाम्रो व्यक्तिगत मतभेद हाेइन, आफ्नो क्रान्तिकारी विचारको रक्षा गर्न नसकेकाले हामीले फरक बाटो र फरक मत राखेका हौँ।
अहिले विश्वभर कम्युनिष्ट आन्दोलनमा गम्भीर संकट आएको छ। संकटमुक्तको लागि प्रयास भइरहेको छ। विचार नमिल्नाले हामी फरक बाटोमा लागेका हौँ। जनता र कार्यकर्ता मसंग जोडिनुको कारण मलाई देखेर हाेइन, क्रान्तिकारी विचारको रक्षाको लागि हामीसंग जोडिनु भएको हो। मसालका अन्य विभिन्न मोर्चाका साथीहरू हामीसंग नजोडिए पनि बाहिरबाट समर्थन भइरहेको छ। हामीमा राजनैतिक विचलन भएको छैन। अहिले नै कतै जाने वा एकता गर्ने भन्ने छैन। क्रान्तिकारी विचारको रक्षा हाम्रो उदेश्य हो।
मसाल कस्तो पार्टी हो र, कोही नेताहरू टिक्नै नसक्ने? मुख्य समस्या के हो?
मसालमा मान्छे नटिक्नुका धेरै कारणहरू छन्। एउटा मुख्य समस्या राजनैतिक दर्शनमा खोट देखिन्छ। नेतृत्व पंति नै दार्शनिक रूपमै गलत ठाउँमा देखिनुहुन्छ। मोहनजीहरू दार्शनिक रूपमा अदभूतवादी, व्यवहारमा संशाेधनवादी हुनुभयाे, किनभने कुनै कुरालाई उहाँहरू स्थिर देख्नुहुन्न। परिवर्तन र गतिशिल देख्नुहुन्न। उहाँहरूले पनि नेपालको कम्युनिष्ट आन्दोलनलाई क्षति पुर्याइरहनु भएको छ।
कम्युनिष्ट नेताहरूमा जुन सर्वहाराकृत चरित्र हुनुपर्ने हो, त्यो रहेन। सामन्ती, हुकुमी शासन रहिरह्यो। म नेता भइसकेपछि मैले भनेको सबैले मान्नु पर्छ भन्ने भाव र फरक विचार राख्नेहरूलाई दमन गर्ने प्रवृत्ति रहेको छ। यस्तै-यस्तै कारणले धेरै वैचारिक नेता/कार्यकर्ता भड्किएका छन्।
सबैले क्रान्तिको लागि फरक मत राखेको देखिँदैन, क्रान्तिको लागि विद्रोह गर्ने हो। पतन हुने होइन, अझ दक्षिणपन्थीहरूको पार्टीमा प्रवेश गर्ने होइन। देश, जनता र कम्युनिष्ट आन्दोलनको चिन्ता गर्नेहरूले त्यसो गर्नु हुँदैन। अहिले केही साथीहरू २१औँ जनवादको घोर पुँजीवादी बाटोमा प्रवेशसमेत गरेको देखिन्छ।
नेपालका कम्युनिष्ट पार्टीहरू किन टुक्रा- टुक्रा हुन्छ? तपाईंहरू किन मिल्न सक्नुहुन्न?
नेपालका कम्युनिष्ट पार्टीहरू फुटिरहनुको दुईवटा पक्षहरू छन्। फुट सुन्दा नराम्रो हुन्छ तर फुटका सकारात्मक पक्षहरू पनि रहेको देख्न सकिन्छ। रूसी कम्युनिष्ट पार्टीहरू हेर्दा स्तालिनको मृत्युपछि खुस्नेब सत्तामा आए। सत्तामा आइसकेपछि संशाेधनवादी निति लागू गरेर उसले लेलिन स्तालिनको बाटोलाई पुँजीवादी बाटोमा लग्यो। माथि-माथिका कार्यकर्ताहरूलाई जेल सजाय र हत्या गरे तर तलको कार्यकर्ताले पत्तो पाएनन्। पार्टीहरू फुटेनन्। अहिले रूसीले पुँजीवादी सामाजिक साम्राज्यवादी बाटो समायो। आज जनताले अहिलेको यत्रो सास्त्री भोग्नु परेको छ।
नेपालमा एमाले जो माले थियो, वर्ग संघर्षको निति छोडेको धेरै भयो तर विरोध भएन, माले सिद्दियो। केही मान्छेहरूले एउटा सहि विचार लिएर अलग भइदिएको भए क्रान्तिकारी विचारको रक्षा हुन्थ्यो। त्यसाे भएन। फुटकाे सकारात्मक पक्ष भनेको गलत विचारसंग संघर्ष गरेर विचारको रक्षा हुन्छ भन्ने हो। आज हाम्रो विचार सानो छ, थाेरै जनशक्ति होला। भोलि राम्रो हुँदै जानेछ। नेपालको नेकपा फुट भनेको विचारको फुट हाेइन। सत्ताको लागि पार्टी फोर्नु हुँदैन। क्रान्तिको रक्षाका लागि फुट्नु नराम्रो हाेइन।
अहिले त नेपालका कम्युनिष्ट नेताहरू नै छैनन्, सबै स्वार्थपूर्ण बाटोमा लागे भन्ने आरोप छ नि। के अब नेपालमा कम्युनिष्ट नेताहरू रहँदैनन् त?
पहिलो कुरा त कसलाई भन्ने कम्युनिष्ट, को हुन् कम्युनिष्ट मुख्य कुरा हो। हाम्रो देशमा कम्युनिष्ट पार्टीहरू धेरै छन्, तुलनात्मक रूपमा हेर्दा नेपालको ६०-६५ प्रतिशतभन्दा धेरै जनमत छ। त्यो जनमत संशाेधनवादी, पुँजीवादी नेताहरू दलाल हुन्। उनका पार्टीलाई दोष दिनु हुँदैन। त्यही दलालहरूले कम्युनिष्टको नाममा सत्ता कब्जा गरिरहेका छन्। विभिन्न झण्डा बोकेर आफूलाई कम्युनिष्ट नेता सम्झिएका छन्। वास्तवमा ती सबै व्यक्ति कम्युनिष्ट हुँदै होइनन्। जस्तै एमाले, माओवादी, एकीकृत समाजवादीलगायतका केही दलहरू कम्युनिष्ट पार्टी होइनन्। जनताले नबुझेर कम्युनिष्ट हुन् भनेर समर्थन गरिरहेका छन्।
पुँजीवादी बाटोमा लागेका छन्, निर्वाचनमा अर्बौं खर्च गर्छन्। नेताहरू भष्टाचारमा चुर्लुम्मै डुबिसकेको देखिन्छ, कारवाही हुँदैन। जनतामा कम्युनिष्टहरू खराब छन् भन्ने प्रभाव परेको छ। उनीहरू पुँजीवादी नेता हुन्। नेपालको सच्चा कम्युनिष्टहरू भनेको सर्वहारा वर्गको नेतृत्वमा मजदुर-किसानको एकताको आधारमा नयाँ जनवादी क्रान्ति व्यवस्था स्थापना गर्न चाहने व्यक्ति र पार्टीहरू हुन्।
नेपालमा १०० प्रतिशत कम्युनिष्ट कोही पनि छैनन्। सर्वहाराको धरातलमा कोही पनि पुगेका छैनन्। मध्य पुँजीपति वर्गमा रहेकाले पूर्ण कम्युनिष्ट हैनन् तर विचार, सिद्दान्त, व्यवहारमा हामी चाहिँ कम्युनिष्ट हौँ। आफूलाई कम्युनिष्ट नेता सम्झिनेहरू ४०-५० प्रतिशत कम्युनिष्ट हुन्।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदैछ। तपाईंहरू कसरी जानुहुन्छ?
हाम्रो निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने भन्ने कुरा आइरहेको छ। हामीले स्थानीय निर्वाचनलाई पनि उपयोग गरेका थियौँ। राष्ट्रघात, राष्ट्रिय स्वाधीनताको रक्षाको सवालमा एक/दुई जना भएर केही हुँदैन, केही गर्न सकिँदैन, धेरै चाहिन्छ। त्यसो हुँदा संसदमा पुगेर जनताको विचार लगेर राख्न सकिन्छ कि भन्ने हो।
अब निर्वाचनमा कसरी जाने भन्ने सोच बनाउँदैछौँ। यदि निर्वाचनमा गइहाले पनि माओवादीसंग हाम्रो तालमेल हुँदैन। राष्ट्रघाती विधेयकहरू पास भएका छन्, त्यसको खारेजीको लागि आन्दोलनमै रहेका छौँ। हाम्रो अहिलेको मुख्य विषय भनेको निर्वाचन भन्दापनि पार्टीको पुनर्गठन गर्ने प्रक्रियामा रहेका छौँ। अब चाँडै नै विशेष महाधिवेशन गरेर सबै कुराको टुङ्गो लगाउने छौँ। त्यहीअनुरूप अगाडि बढेका छौँ।
अन्त्यमा के भन्न चाहनुहुन्छ?
आज देश संकटबाट गुज्रिरहेको छ। इतिहासकै आजसम्म नआएका संकट देख्न सक्छौँ। एमसीसी पारित, एसपीपी योजना, नागरिकता विधेयक पारित, महँगी, भष्टाचार मौलाइरहेको छ। यतिबेला गठबन्धन नामको शेरबहादुर देउवा नेतृत्वको सरकार अमेरिकाको पक्षमा अडिरहेको छ। विश्वका सबै देशहरूसंगकाे सम्बन्ध मजबुत बन्न सकेको छैन। जुन-जुन विधेयक पारित भयो, अब कानुन बन्ने तयारीमा छ।
अब देश अल्पमतमा पर्ने संकेत देखिन्छ, राजनीति गर्नलाई देश चाहिन्छ। पहिले हाम्रो राष्ट्र बचाउन लागौं, जुटौँ। देश सिकिमीकरण बन्ने देखिन्छ, योबाट बचाउने प्रयास गरौं। हामी कुन देशको नागरिक हौँ भन्ने सम्मको प्रमाण जुटाऔँ। देश रहे राजनीति गरौँला। देश बचाउन एक जुट हौँ।