संविधान कार्यान्वयनमा ल्याउन तीनै तहबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानमा भएको अधिकारलाई कार्यान्वयनमा ल्याउनका लागि तीनै तहबीच सहकार्य आवश्यक भएको बताएका छन्।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले आज धनगढीमा आयोजना गरेको सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा अन्तरसम्बन्धका लागि व्यवस्था गरिएका संस्थागत संयन्त्रको क्रियाशीलताको अवस्थासम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री भट्टले संविधानमा भएको अधिकारलाई कार्यान्वयनमा ल्याउनका लागि स्थानीय, प्रदेश र सङ्घले सहकार्य गरी अगाडि बढ्न सके मात्र संविधानलाई सफल पार्न सकिने बताए।

मुख्यमन्त्री भट्टले स्थानीय, प्रदेश र सङ्घले विकास निर्माणसम्बन्धी कुनले के र कस्तो काम गर्ने भन्ने विषयसम्बन्धी मापदण्ड वा कार्ययोजना साझा रुपमा तयार गर्नु जरुरी रहेको धारणा व्यक्त गरे।

'त्यो भयो भने त्यसमा टेकेर हामी सबैलाई काम गर्न सहज हुने थियो,' उनले भने, 'जनताका अपेक्षा, हाम्रो काम गर्ने तौरतरिका र विधि प्रक्रियाहरु बीचको तालमेल नमिलेको कारणले सङ्घीयताका बारेमा बेलाबेलामा टीकाटिप्पणी उठिराखेको हुन्छ र यसबाट हामी सबैले एकरुपताका साथ अगाडि बढ्नुपर्ने जरुरी छ।'

प्रकाशित मिति: : 2022-07-26 16:09:00

प्रतिकृया दिनुहोस्