भक्तपुरकाे सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा ३ जनाको मृत्यु भएकाे छ भने १२ जना घाइते भएका छन्।
आइतबार दिउँसाे काठमाडौँबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको यात्रुबाहक बस र बा ६१ च नम्बरको स्कुटरलाई सल्लाको रुख ढलेर च्यापेकाे प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए।
घाइतेहरूलाई भक्तपुरमा रहेका इवामुरा अस्पताल र भक्तपर अन्तराष्ट्रिय अस्पताल उपचार भइरहेको प्रजिअ शर्माले जानकारी दिए।
मृत्यु भएका तीनमध्ये एक जनाको सनाखत भएको र दुई जनाको सनाखत हुन नसकेको प्रजिअ शर्माले जानकारी दिए। मृतक नितेश खर्वुजाको सनाखत भएको हो।
अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ। सल्लाको ठूलो रुख ढलेकाले हटाउन केही समय लाग्ने प्रजिअ शर्माले बताए।
दुर्घटनामा घाइतेहरूको यथाशीघ्र उपचारको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाँणले भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्मा र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।
गृहमन्त्री खाणले ढलेका रुख र च्यापिएका सवारी हटाएर सडक सुचारु गर्न पनि निर्देशन दिएका छन्।