पोखरामा महानगरका मेयरहरूको सम्मेलन हुँदै

File Photo
File Photo

पोखरामा नेपालका महानगरपालिकाका मेयरहरुको सम्मेलन हुने भएको छ। साउन १३ र १४ गते पोखरा महानगरको आयोजनामा मेयर सम्मेलन हुन लागेको हो।

महानगर सन्चालनका विद्यमान कानुन र आवश्यक सुधारका बारेमा छलफल गर्न तथा अनुभव आदान प्रदान गर्नका लागि कार्यक्रम राखिएको पोखराका मेयर धनराज आचार्यले बताए। उनका अनुसार गाउँपालिका र नगरपालिकाका समस्या सुनाउनका लागि आफ्नै संरचना भएपनि महानगरको छुट्टै संरचना नभएका कारण भेलाले साझा समस्या खोजेर समाधानका लागि सम्बन्धित निकायमा सुझाव दिनेछ।

यसअघि पनि पोखराकै आयोजनामा मेयर सम्मेलन भएको थियो। सम्मेलनमा महानगरको संचालन कानुन फरक हुनुपर्ने आवाज उठे पनि कार्यान्वयनमा गएन। यसपालि पनि महानगरको छुट्टै सन्चालन ऐन निर्माणका लागि छलफल हुन सक्ने बताइएको छ। ‘धेरै चुनौति छन्। ति चुनौती पार लाउन आपसी भेटघाट र छलफल हुनुपर्छ,’ आचार्यले भने, ‘एउटा प्रक्रियाको सुरुवात मात्रै हो। यसपछि निरन्तर बैठक हुनेछ।’

आचार्यले १ महिनाअघि देखि मेयर सम्मेलनको लागि निम्तो गरेका थिए। सबै महानगरका मेयरसँग छलफल गरेर भेला आयोजना गरिएको उनले बताए। ६ वटा महानगरमध्ये ललितपुर र भरतपुरमा पूरानै मेयर छन् भने अरु सबै महानगरमा नयाँ मेयर निर्वाचित भएका छन्। पुराना मेयरको अनुभव सुनेर नयाँ मेयरले कामको कार्ययोजना बनाउन सजिलो हुने पोखरा महानगरले जनाएको छ।

प्रकाशित मिति: : 2022-07-24 12:29:00

प्रतिकृया दिनुहोस्