संस्कृत विश्वविद्यालय : तालाबन्दीको विषय अदातल पुग्यो, छलफलका लागि उपस्थित हुन आदेश

File Photo
File Photo

दाङको बेलझुण्डीस्थित संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लामो समयदेखि भइरहेको तालाबन्दीको विषय अदालतमा पुगेको छ।

नेपाल विद्यार्थी संघका नामबाट १४ बुँदे माग राख्दै वैशाख १९ गतेदेखि लगाएको ताला खुल्न नसकेपछि यस विषय अदालतमा पुगेको हो।

अधिवक्ता कुलबहादुृर डाँगीले विद्यार्थी संघका विरुद्धमा उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेका हुन्। उक्त मुद्दामा अन्तरिम आदेश गर्दै न्यायधीश बबिता उप्रेतीको एकल इजलासले दुबै पक्षलाई छलफलका लागि बोलाएको छ।

आदेशमा भनिएको छ, 'निवदेकले माग गरेको अन्तरिम आदेशको सम्बन्धमा दुबै पक्षको छलफल सुनी निष्कर्षमा पुग्न उपयुक्त देखिएकाले अन्तरिम आदेश छलफलका लागि साउन ११ गतेका दिन किटान गरी उपस्थित हुन विपक्षीलाई सूचना दिनू।'

यस मुद्दामा अधिवक्ता पुस्करबहादुर भण्डारीले बहस गरेका थिए। साउन ५ गते उप्रेतिको एकल इजलासले छलफलका लागि आदेश दिएको थियो।

यसैबीच तालाबन्दीका कारण विश्वविद्यालयका आर्थिक, शैक्षिक प्रशासन, परीक्षा, अनुसन्धानजस्ता महत्वपूर्ण काम रोएिको छ। तालाबन्दी भएको ३ महिनासम्म पनि केही बुँदामा सहमति नहुँदा विद्यार्थीले संघले ताला खोल्न मानिरहेको छैन।

जेठ २९ गते विश्वविद्यालय र आन्दोनरत पक्ष नेविसंघबीच भएको वार्तामा १४ बुँदामध्ये ११ बुँदामा सहमति जुटेको थियो। तर सबै माग पूरा हुनुपर्ने भन्दै आन्दोलनरत पक्षले विश्वविद्यालयको मुल गेटमा ताला खोले पनि उपकुलपति, कुलसचिव, शिक्षाध्यक्षको कार्यकक्ष, शैक्षिक प्रशासन, बजेट महाशाखा, सेवा आयोगलगायतका महत्वपूर्ण कक्षमा ताला खोलेको छैन।

विद्यार्थी संघले सबै माग पुरा हुनुपर्ने बताउँदै आएको भएपनि विश्वविद्यालयले माग पुरा गर्न सकिने जनाएको छ। जसका कारण विगत ३ महिनादेखि विश्वविद्यालयका कामकाज ठप्प बनेका छन्।

प्रकाशित मिति: : 2022-07-23 11:11:00

प्रतिकृया दिनुहोस्