प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति चाँडै घोषणा हुन्छः प्रधानमन्त्री देउवा

File photo
File photo

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनको मिति चाँडै नै घोषणा गरिने जानकारी दिएका छन्। 

नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको शुक्रवार हेटौँडामा उद्घाटन गर्दै उनले सरकारले आम निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको बताए।

प्रधानमन्त्री देउवाले भने, ‘सरकार निर्वाचनको तयारीमा जुटिरहेको छ। निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादितरुपमा सम्पन्न गराउने गरी कलम चलाइदिनुस्। निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई सुदृढ बनाउँछ।’ उनले राजनीतिक स्थायित्वका विषयमा पत्रकारिता जगत्ले कलम चलाउनुपर्ने आवश्यकता औँल्याए।     

प्रधानमन्त्री देउवाले पछिल्लो समय नियोजितरूपमै लाञ्छना लगाउनेक्रम बढेको जनाउँदै निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउने धारणा राखे। उनले भने, ‘परिवर्तनका लागि भएको नेपालको आन्दोलनमा प्रेसको भूमिका महत्वपूूर्ण रहेको छ।’ कोभिड–१९ मा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै उनले सत्यतथ्य सूचनाले मात्रै मुलुकको विकास हुने उल्लेख गरे।  
    
लोकतन्त्रलाई सुदृढ बनाउन स्वच्छ पत्रकारिता जरुरी रहेको जनाउँदै प्रधानमन्त्री देउवाले कांग्रेस लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताप्रति सदैव प्रतिबद्ध रहेको बताए।
 

प्रकाशित मिति: : 2022-07-22 15:31:00

प्रतिकृया दिनुहोस्