स्वदेशमा अवसर नपाएर परदेशकाे उडान भर्ने नेपालीहरूकाे संख्या निक्कै ठूलाे छ। जन्मभूमि छाेडेर विदेशमा जानुपर्ने नेपालीकाे बाध्यता अहिलेदेखिकाे भने हाेइन्, यसकाे इतिहास धेरै लामाे छ। नेपालीहरू अनेकाैं परिस्थित र संयाेगले विदेशमा पुगेका छन्। त्यसमाथि परदेशी जीवन त्यति सजिलाे कहाँ हुन्छ र ? धेरैले आफ्नाे जीवनकाे महत्वपूर्ण सयम विदेशमा पसिना बताएरै बिताएका छन्। तर, त्यही कठिन परिस्थितमा पनि केही नेपाली युवा चम्किरहेका छन्। आफ्नाे सँगै नेपालकाे पहिचान पनि झल्काइरहेका छन्। यसैमध्येका एक हुन्, पर्वतकाे लुङ्खुदेउरालीका नारायण अधिकारी।
पर्वतकै बुद्ध प्रा.वि.मा कक्षा ५ सम्म र श्री महेन्द्र ज्योती मा.वि.बाट एसएसली उत्तीर्ण गरेका नारायणले चितवनकाे बालकुमारी क्याम्पसबाट स्नातक तहसम्मकाे अध्ययन पूरा गरे। त्यतिबेला उनी त्यहाँ एलआइसीकाे डिपाे इन्चार्जका रूपमा काम गर्थे। तर, उनलाई आफ्नाे याेग्यता र उमेर बढ्दै जाँदा चितवन सानाे लाग्न थाल्याे, अध्ययन सँगै व्यापार गर्ने याेजना बनाएर सन् २००३ मा काठमाडाैँ हिँडे।
राजधानी आएर उनले सुरूमा ‘बिजनेस पर्माेटर ग्रुप’ नामक कम्पनी खोले। तर, साेचेजस्ताे भएन। कम्पनी घाटामा गयो, शङ्करदेव क्याम्पसमा भर्ना भएर अध्ययन पूरा गर्ने सपना पनि तुहियाे।
त्यसपछि नारायणलाई अष्टेलिया जाने र उतै पढेर जम्ने रहर लाग्याे। उनी सन् २००४ मा अष्ट्रेलियमा उडे। नेपालमा हन्टरै–हन्टर खादै अेष्टेलिया पुगेका नारायणको जीवनमा अर्को बज्रपात आइलाग्यो, उनले पढ्दै गरेकाे कलेज कालोसुचीमा पर्याे र पुगेकाे ६ महिनामै बन्द भयो। त्यति हुँदा पनि उनी आत्तिएनन्, आत्मविश्वास पनि गुमाएनन्। उनी अर्काे सम्भावनकाे खाेजीमा त्यतैबाट सिंगापुरतर्फ लागे।
‘नेपालमा काेसिस गरेकाे हाे तर साेचेजस्ताे नभएपछि अष्ट्रलिया गएकाे थिएँ तर त्यहाँ झन समस्यामा परियाे। एउटा सुन्दर सपना सजाएर विदेशिएकाे थिएँ, नेपाल फर्किनँ, पढ्नकै लागि सिंगापुर हानिएँ,’ नारायणले बिएले नेपाली सेवासँग आफ्नाे विगत सुनाए।
नारायणले कामसँगै अध्ययन गरेर सिगांपुरबाट स्नाकाेत्तर तहकाे अध्ययन पूरा गरे। त्यसपछि त्यहाँ रहेका नामी हाेटल तथा रेष्टुरेण्टमा वेटरकाे काम सुरू गरे। पछि उनले काम गर्दै आएको मरिनाबेससेन ग्रुपले चलाएको एक बारको म्यानेजर भए। कलिलो उमेरमा म्यानेजर बनेर सफलताकाे स्वाद चाखिसकेकाे उनी आफ्नै कामबाट चकित बन्दै गए, उनकाे आत्माविश्वास बढ्दै गयाे।
त्यहाँसम्म आउँदा नारायणलाई अवसरले पछ्याउन थालिसकेको थियो। सिगांपुरमा जमिरहेकै बेला उनलाई सन् २००७ मा मलेसिसयाको ओलिफ्ट्री ग्रुपबाट राम्रो अफर आयो। उनले मलेसियाको उक्त ग्रुपमा म्यानेजरका रुपमा काम गर्न थाले। त्यो ग्रुपमा मलेसियामा भरिमा २२ वटा आउटलेट थिए।
त्यहाँ काम गर्दै गरेका बेला उनलाई अर्को त्यो भन्दा पनि राम्रो अवसर आयो। भारतको नाम चलेको डिपल्स ट्राभल्सबाट अफर आएपछि उनले मलेसियामा गर्दै आएको उक्त काम छाडेर ट्राभल्समा काम गर्न थाले। सिंगापुर, मलेसिया, इन्डोनेसिया र बैंकककाे कार्पाेरेट इन्चार्ज भएर १ वर्ष काम गरे। त्यतिबेला उनकै सक्रियतामा डिपल्स ट्राभल्सले एसियाकाे नम्बर वान टुर एण्ड ट्रावलकाे बेष्ट अवार्ड पाउन सफल भएकाे थियाे।
उनी त्यहाँ पनि उत्तिकै जमिसकेका थिए। मलेसियामा पहिला काम गरेको ओलिफ्ट्री ग्रुपबाट उनलाई क्षेत्रीय एरिया इन्चार्जको अफर आयो, उनी फेरि उतै लागे। ग्रुप म्यानेजर रहेका उनकाे उनकाे अन्डरमा ७० जना बढी कर्मचारी छन्।
काठमाडौंमा असफल भएर विदेश हानिएका नारायणले आज यो दिन आउला भनेर कल्पना पनि गरेका थिएनन्। सिंगापुरका नामी होटलमा काम गर्नु, संसारभरका पर्यटक घुमाउनु अनि मलेसियाको पर्यटकीयस्थल जोहोरमा नाम चलेकै बारहरुको वेटरदेखि ग्रुप म्यानेजर हुनु नारायणको लागि चानचुने कुरा हाेइन। यति ठुलाे सफलता भने उनले सानाे मिहेनत र धैर्यताबाट मात्रै पाएका हाेइनन्।
‘नेपालमै केही गर्छु भन्दा खाएकाे हन्टरै–हन्टर र ठक्करै–ठक्करले जे होस् आज यहाँसम्म पुर्याएकाे छ। अहिले पनि नेपालमै केही गर्छु भन्ने मनमा छ, धेरै योजनाहरु छन्, हेरौं अब के हुन्छ,’ मलेसियमा बिएल नेपाली सेवासँग कुराकानी गर्दै नारायणले भने।
कलिलो उमेरमै विदेशी भूमिका आफ्नो प्रभुत्व जमाउन सफल नारायण मलेसियामा रहेका नेपालीहरु मध्येका एक आइडल हुन्। होटलकाे वेटरदेखि म्यानेजरसम्मको अनुभव बटुलेका नारायणको सोचाइ पनि बेग्लै छ।
नारायण समाज सेवामा पनि उत्तिकै तल्लीन हुन्छन्। पहिल्यैदेखि समाज सेवामा लिप्त नारायणले समाज सेवाकै लागि लक्ष्मी फाउन्डेनस नामक एक संस्था खोलेरै समाजमा सहयोग गदै आएका छन्।
सन् २०१७ मा समाज सेवालाई अघि बढाउनकै लागि उनले लक्ष्मी फाउन्डेसन खोलेका हुन्। सो फाउन्डेसनमार्फत् उनले पर्वतमा आफूले पढेका दुईवटा विद्यालयमा इलाइब्रेरी खोलेका छन्। त्यसैगरी उनले नेपालमा विपन्न परिवारका बालबालिका अध्यन गर्ने १२ वटा विद्यालयमा शैक्षिक सामाग्रीहरुसँगै पाेसाक पनि वितरण गर्दै आएका छन्। त्यस्तै वृद्धा आश्रममा खाना खुवाउनेदेखि लिएर काेराेना महामारीमा पनि उनले करिब १२ लाख बराबरकाे स्वास्थ्य सामाग्री सहयाेग गरेका थिए।
त्यति मात्रै नभएर नारायणले मलेसियामै समस्यमा परेका नेपालीहरुको पनि उद्धार गर्दै आएका छन्। आफ्नो व्यस्त समयलाई मिलाउँदै नारायणले दैनिक जसो एक न एक समाज सेवाकाे कार्य गरेकै हुन्छन्।
त्यस्तै गैरआवसीय नेपाली संघ (एनआरएनए) मलेसियाको सचिव पनि हुन्। १४ वटा राज्य भएको मलेसियाभरमा छरिएर रहेका नेपालीहरुलाई केही समस्या पर्याे कि उनको मुटु पोलिहाल्छ, त्यसपछि उनी सो क्षेत्रमा कुदिहाल्छन्।
‘एनआरएनएमा हुनुभन्दा पहिले सानो संस्थामा रहेर काम गरेको थिएँ, जुन लक्ष्मी फाउन्डेसन रहेको छ। त्यसको म चेयरमेन हुँ। ५/६ वटा स्कुलहरुलाई सहयोग गरेका छौँ। ४ वटा पुस्ताकालयहरू खोल्ने सोचमा छौँ, यो पर्वत र नवलपरासीलाई मुख्य केन्द्रविन्दु बनाउने सोचमा रहेका छौँ,’ नारायाणले भने,‘त्यस्तै नेपालभरबाट आमाबुबा गुमाएका केही जेहन्दार बालबालिकालाई पढाउने याेजनामा छाैँ।’
त्यसैगरी दुवैमा दुईवटै मृगाैंला (किड्नी) गुमाएका नेत्रबहादुर विकको जीवन यिनै नारायणकै कारण जोगिएको हो। उनको उपचारका लागि नाराणयले ९ लाख सहयाेग गरेका थिए।
सधैँ समाज सेवामा लाग्ने नाराणयलाई आफैंलाई याद छैन अहिलेसम्म समस्यामा परेका कति जनालाई सहयाेग गरेँ भन्ने। अहिले पनि समाजसेवामा निरन्तर खटिरहेकाे उनी एनआएनका गतिबिधिमा पनि उत्तिकै सक्रिय छन्।