विश्वबजारमा जमेकाे नेपाली ब्राण्ड, जसलाई मलेसियाले पत्यायाे (भिडियोसहित)

डिल्ली पाण्डे

क्वालालम्पुर
Breaknlinks
Breaknlinks

मलेसियामा प्रवासी युवाहरूको आकर्षण बढ्दो छ। अन्तर्राष्ट्रिय विमानस्थलदेखि समुन्द्री मैदानसम्म भेटिन्छन्, कैयौं नेपाली।

कर्मभूमिमा कार्यरत थुप्रै युवा व्यवसायीहरू संघर्षको दौडमा छन्। कतिपयले सडकदेखि टावरसम्म लोभलाग्दो प्रगति पनि गरेका छन्। स्वाभाविक रूपमा एउटा सफलताको पछाडि संघर्ष, आत्मविश्वास, निराशा र धैर्यताको कथा लुकेको छ।

एक दशकयता नेपालमा विदेशी ब्राण्डलाई भित्र्याउने होडबाजी नै चलेको छ। त्यसो त नेपालीहरूले आफ्नो ब्राण्डलाई विश्वबजारमा फैलाउन उत्तिकै मरिहत्ते गरिरहेका छन्। धेरै असफल छन्। थोरैले राम्राे सफलता प्राप्त पनि गरेका छन्।

विदेशी ब्राण्ड नेपालमा भित्र्याउन एकदमै सजिलो छ। तर नेपाली ब्राण्डलाई विदेशसम्म लैजानु भनेको ‘पहाड उचाल्नु जत्तिकै चुनौतीपूर्ण’ मानिन्छ।

कमै नेपाली ब्राण्ड मात्रै विदेशी भूमिमा पुगेका छन्। पहाड चिरेर प्रवासमा उदाएका ब्राण्डहरू थोरै छन्। मलेसियामा जमेको एउटा नेपाली ब्राण्ड हो– ‘ट्याङकुलीटी स्पा एण्ड वाइलनेस’।

नेपाली ब्राण्डका रूपमा चिनिएको ‘ट्याङकुलीटी स्पा एण्ड वाइलनेस’को अलग्गै कहानी छ। तर संघर्ष र धैर्यताले भरिएको छ। नेपाली ब्राण्ड मलेसियामा भित्र्याउन सामान्य सपना छँदै थिएन। त्यो पनि अन्तर्राष्ट्रिय चेन होटल मेरियटमा।

करिब दुई दर्शकअघि एउटा सानो सपना बोकेर केएल अन्तर्राष्ट्रिय विमानस्थलमा पाइला टेकेका उर्जाशील युवा हुन्,  खेम धामी। उनी विमानबाट एक्लै ओर्लिए, मलेसिया। बिरानो भूमि। कोही थिएन आफ्नो।

काठमाडौंमा होटल म्यानेजमेन्ट पढिरहेकै बेला एकवर्षे कोर्षका लागि सन् २००७ सालमा मलेसिया आएको बताउँछन्, धामी। उनी पहिलोपटक मलेसिया प्रयोगात्मक कक्षाका लागि आएकाे सम्झना गर्छन्। धामी मलेसिया आउने पहिलो ब्याजी पनि हुन्।

सुदूरपहाड नेपालको डोटी जिल्लामा सन् १९८८ मा जन्मिएका उनले आफ्नो पढाइ भने काठमाडौंमा पूरा गरे।

पढाइ राम्रो थियो। नयाँ कुरा सिक्न खोज्थे। रुचिको काम गरिहाल्थे। अध्ययन गरिरहेको कलेजमार्फत् ३५ जना साथीहरूसँग धामी त्याे बेला मलेसिया आएका हुन्।

तर पहिलोपटक सँगै मलेसिया ओर्लिएका ३५ साथीहरू अहिले कोही पनि यहाँ छैनन्। उनी मात्रै व्यवसायमा जमेका छन्। संघर्षको मैदानमा दौडिरहेका छन्, हारेका छैनन्। बरू कोरोना महामारीका कारण थाकेका छन्। मलेसिया कैयौं सहरमा थपिरहेका थुप्रै नेपाली ब्राण्डबाट खुम्चिएका छन्।

त्योबेला एक वर्ष मलेसिया बसेको बताउँछन्, उनी। कलेजमार्फत् आएका उनले विभिन्न होटलमा काम सिके। मलेसियाको व्यवसायिक धरातललाई नजिकबाट चिन्ने अवसर प्राप्त गरे। त्यसपछि उनी नेपाल फर्के।

मलेसिया व्यवसाय गर्नेहरूका लागि अवसरको खानी ठान्छन्, धामी। धामीले काठमाडौंमा एउटा कन्सलटेन्सी खोले अनि नेपालमा होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीलाई इन्ट्रसिभको लागि मलेसिया पठाउन थाले।

उनले झण्डै पाँच हजारभन्दा बढी विद्यार्थीलाई मलेसिया उतारेर राम्रो ज्ञान–सिप सिकाएका छन्।

भन्छन्– मलेसियाले राम्रो मान्छे चिन्छ। सरल अनि मिजासिलो स्वभावका युवा व्यवसायी धामीलाई मलेसियाले तान्यो। उनीसित राम्रो ज्ञान थियो। सबैले रुचाउँथे। उनी सन् २०१० मा फेरि मलेसिया भित्रिए।

नेपाल–मलेसिया कनेक्सनले धामीको व्यवसायिक जीनले झन् छलाङ मार्यो। नेपाली र मलायाहरूले पनि पत्याउन थाले। उनी साेच्थे, केही त गर्नैपर्छ। लामो समय लिएनन्, नेपाली ब्राण्डलाई मलेसिया भित्र्याउने योजना बुनिहाले।

सम्बन्ध चारैतिर फैलिएको थियो। धामीले त्यही मौका छोपे र मलेसियामा ‘ट्याङकुलीटी स्पा एण्ड वाइलनेस’को ब्राण्ड स्थापना गरे। त्यो पनि स्टार होटलमा।

मलेसियामा नेपाली ब्राण्ड जमाउनु सामान्य कुरो थिएन। निकै मुस्किल मानिन्थ्यो। अन्तर्राष्ट्रिय चेन होटल मेरियटमा स्पा खोल्ने सपना सानाे सपना थिएन। त्यो पनि नेपाली ब्राण्ड। पहिलो संवादमा त होटल सञ्चालक पनि झस्के। तर धामीले हार भने खाएनन्।

ट्याङकुलीटी स्पा एण्ड वाइलनेस नेपालको एउटा फराकिलो नाम कमाएको ब्राण्ड हो। नेपालको तारे होटल सोल्टीदेखि पोखराको तारे होटल अनि विभिन्न ठाँउमा ट्याङकुलीटी स्पा एण्ड वाइलनेसका १८ ओटा वाउटलेट छन्।

धामीले ट्याङकुलीटी स्पा एण्ड वाइलनेसलाई मलेसियाको क्यापीटल सिटी पुत्राजयमा अन्तर्राष्ट्रिय चेन होटलमा खोलेका छन्। उनले सन् २०१४ मा स्पा खोलेका हुन्। धामीले नेपाली ब्राण्डलाई मलेसियामा उतारेर नेपाल र नेपालीहरूको शिर उचो पारेका छन्।

अन्तर्राष्ट्रिय होटलमा नेपालको ब्राण्डलाई स्थापना चानचुने थिएन। तर धामीले अठोटका साथ काम गरे। त्यति मात्रै होइन, उनी मलेसियामा रहेको स्पा संघको सचिवसमेत हुन्।

कुनै समय सीप सिक्न मलेसिया पुगेका धामीबाट अहिले मलेसियाले नै पत्याउन थालेको छ। नेपालको मात्र हैन मलेसियाकाे स्पा समाज पनि हाँकिरहेका छन्। स्पाको प्रतिनिधित्व गर्दै विश्व सामु उभिने तरखरमा छन्।

प्रकाशित मिति: : 2022-08-03 11:33:00

प्रतिकृया दिनुहोस्