१० वर्ष कार्टुन प्याक गरी व्यवसायी बनेका हरिलाई आफ्नोभन्दा समाज सेवा प्यारो

डिल्ली पाण्डे

जोहोर, मलेसिया 

सन् २००३ मा रोजगारीका लागि मलेसिया पुगेका झापा गौरादहका हरि बस्नेत जोहोर राज्यको नुसाजया गालानपता सहरमा बस्छन्।

जोहोर राज्यको सेनाइ सहरमा रहेको कार्टुन बनाउने एक फ्याक्ट्रमा सामान्य श्रमिकका रुपमा पहिलो पटक सन् २००३ मा मलेसिया पाइला टेकेका हरिले अहिले आफ्नो छुट्टै साम्राज्य बनाएका छन्।

त्योबेलाका श्रमिक हरि अहिले व्यवसायी हरि बनेका छन्। १० वर्षसम्म हरिले त्यही कार्टुन बनाउने फ्याक्ट्रीमा काम गरे। त्यसपछि उनी नेपाल फर्के पनि। १० वर्ष मलेसियामा पसिना बगाएका हरिले नेपालमै केही गर्ने सोच बनाएका थिए। तर उनलाई नेपालमा केही गर्ने वातावरण बनेन, उनी फेरि उतै हानिए।

१० वर्षको मेहनत र परिश्रमले हरिलाई उतै केही गर्ने जोस आयो। त्यसपछि उनले नेपालीहरुलाई लक्षित गरी रेष्टुरेन्ट चलाए।

बिहानैदेखि खट्ने हरि आफैँ खाना बोकेर नेपाली भएको क्याम्पदेखि विभिन्न स्थानमा खाना पुर्याउन तम्सिने गरेका छन्। जस्तोसुकै अवस्थामा पनि आफ्नो मेहनतबाट पछि नहट्ने र केही पर्दासमेत नआत्तिने स्वभावका हरि व्यवसायमा जति सफल भएका छन्, त्यति नै समाज सेवामा पनि तल्लीन छन्।

हरि एनआरएनए मलेसिया क्षेत्र समिति जोहोर राज्यका अध्यक्षसमेत हुन्। एनआरएनए मलेसियाको टिममा रहेका हरि आफैँमा पनि एक उदाउँदै गरेका सफल व्यवसायी हुन् र पनि उनलाई आफू ठुलो भएको कुनै भान हुँदैन। त्यसैले त उनी सबैको मनमा बस्न सफल भएका छन्।

जोहोर राज्यमा कार्यरत नेपालीहरुलाई केही समस्या भयो कि हरि आफ्नो टोली बोकेर कुदिहाल्छन्। अनि दूतावाससँग समन्वय गर्नुपर्ने हो कि अन्य संघसंस्थासंग, हरिले त्यो कार्यलाई अघि बढाइहाल्छन्।

बिएल नेपाली सेवासँगको भेटमा हरिले भने, ‘म कुनै दिन सामान्य मजदुर थिएँ, आज व्यवसायी भएको छु। एनआरएनएमा लागेको छु तर म आफूलाई आफैँ पनि पहिलाकै श्रमिक ठान्छु। आफ्नो देश छाडेर आएका हामीहरुले एकलाई समस्या पर्दा अर्कोले पोल्नुपर्छ, मलाई त्यस्तै हुन्छ।’

‘नेपालीहरू रोजगारी खोज्दै विदेश जान नपरोस् भन्दाभन्दै पनि हाम्रो देशको परिस्थिति तथा राजनैतिक गतिविधिले आउने बाध्यता छ’, बस्नेतले भन्छन्।

पछिल्लो समय मलेसिया नेपालीहरुको रोजगारीको मुख्य थलो बनेको भन्दै मलेसिया आउँदा धेरै कुरा सिकेर मात्र आउन हरिले सबैलाई सुझाव दिन्छन्।

‘पहिला नेपालीहरुमा खासै समस्या आउँथेन, तर पछिल्लो समय नेपालीहरुमा धेरै समस्या छ। धेरै मात्रामा नेपाली युवाहरु कुलतमा लागेको देखिन्छ, उनी भन्छन्, ‘यो समस्याले भोलिका दिनमा नराम्रो अवस्था ल्याउन सक्छ। त्यसैले अभिभावकले विदेश पठाउँदा धेरै कुराको ध्यान पुर्याउनु पर्ने हुन्छ।’

त्यसैगरी मलेसिया आउने नेपालीहरुलाई सीप सिकेर आउँदा समस्या नहुने पनि हरिको सुझाव छ। उनी भन्छन्, ‘हातमा सीप हुँदैन, अनेकौँ सपना बोकेर मान्छे यहाँ आएको हुन्छन्। भनेको जस्तो हुँदैन अनि मान्छे कि त भाग्छन् कि त अनेकौँ काम गर्न थाल्छन्, त्यसपछि विभिन्न समस्याहरु आउँछ।’ यसरी समस्यामा परेका कैयाैँ नेपालीहरुलाई उद्धार गरेर नेपाल पठाएको हरिले बताए।

‘समस्यामा परेका नेपाली दाजुभाइलाई उद्धार गर्नु हाम्रो धर्म हो। अझ कोरोनाकालमा हामीले धेरै मेहनत गर्नुपर्यो। क्याम्पहरुमा भोकै बसेकालाई खाना दियौं, औषधि नपाएकालाई औषधि उपलव्ध गरायौं। त्यति मात्र हैन हामीले यहाँबाट राहत उठाएर नेपालसम्म पठायौं’, हरिले भने।

आफ्नो पेसा, व्यवसायलाई धरापमा राखेर भएपनि समाज सेवामा लाग्ने हरिलाई जोहोर राज्यमा रहेका नेपालीहरुले पनि उत्तिकै मान्ने गरेका छन्।

सामान्य रोजगारीमा मलेसिया पुगेका एक युवा आफैँ व्यवसाय गरी अब्बल हुनु र आपत्-विपतमा परेका आफ्ना नेपालीको साहार बन्नु हरिको उदाहरणीय कार्यलाई सबैले पछ्याउन जरुरी छ।

प्रकाशित मिति: : 2022-07-18 21:13:00

प्रतिकृया दिनुहोस्