राजदूत श्रीषको सन्देश : जतिबेला समस्या पर्छ हामीलाई सम्झनुस् (भिडियाेसहित)

डिल्ली पाण्डे

क्वालालम्पुर, मलेसिया 
Breaknlinks
Breaknlinks

वैदेशिक रोजगारीमा होस या व्यवसाय गर्न विदेश पुगेका नेपालीहरुका लागि दूतावास भनेको राज्य नै हो। केही आपत्-विपत् पर्यो भने सम्झने पनि दूतावासलाई नै हो।

अनि दूतावासका कर्मचारीले आपतमा परेका आफ्ना नागरिकलाई उद्धार गर्नु र सम्बन्धित देशसँग आफ्नो देशको सम्बन्ध गाँस्नु दैनिकी जस्तै हो। त्यसैगरी चलिरहेको छ, मलेसियाको क्वालालम्पुरमा रहेको नेपाली राजदूतावास
श्रम गन्तव्य मुलुकमध्ये मलेसिया पनि प्रमुख देश हो। रोजगारीका लागि मलेसिया आउनेहरु अहिले दिन दुईगुना रात चौगुना बढ्न थालेका छन्।

यस्तै नेपाली दूतावासमा पनि समस्याका चाङहरु आइलाग्छन्। ती समस्याका चाङलाई सल्टाउन दूतावासका कर्मचारीहरु रातदिन लागिरहेका छन्।

‘हामीलाई कुनै पनि कार्यालय समयको पत्ताे हुँदैन, समस्या पर्यो भन्दै रातको १२ बजे फोन आउँछ। अनि बिदाको दिनमा पनि कार्यालय खोल्नुपर्ने अवस्था आउँछ। दुखमा परेका नेपाली दाजुभाइले हामीलाई रुँदै फोन गरेमा हामी चुप बस्ने कुरा आउँदैन। के गर्नुपर्ने हो हामी तातिहाल्छौं’, मलेसियाका लागि नेपाली कार्यवाहक राजदूत मोतीबहादुर श्रीषले बिएल नेपाली सेवासँग भने, ‘राति १२ बजे फोन आउँछ हामीलाई, बिचल्लीमा पर्यौँ भन्दै। त्यो घडीमा हामी नै उनीहरुका लागि सबैथोक हो। हामीले नगर्ने कुरै भएन, सम्बोधन गरेका हुन्छौं अनि बिदाको दिन पनि काम गर्नुपर्ने अवस्था आउँछ, गरेकै हुन्छौँ। समस्यामा परेका आफ्ना नागरिकलाई जोगाउनु हाम्रो दाहित्व हो।’
त्यसकाे अलवा मेलेसिया सरकारसँग नेपालको विकास निर्माण तथा दुई देशको सम्बन्धलाई कसरी बलियो बनाउने भन्नेमा पनि आफूहरु लाग्ने गरेकाे कार्यवाहक राजदूत श्रीष बताउँछन्।

‘अहिलेको समयमा नेपालीहरू दूतावासमा राहदानी नवीकरणको लागि आएको देखिन्छ। राहदानी विभागसंग सहकार्य गरेर हामीले दैनिक २० देखि २५ सम्म पासपोर्ट बनाएर दिने गरेका छौं। त्यसैगरी अन्य कागजपत्र प्रमाणीकरण गर्नेदेखि विभिन्न सेवाहरु छिटो छरितो प्रदान गर्दै आएका छौं’, श्रीष भन्छन्। हालसम्म मलेसिया दूतावासले करिब २ वर्षको अवधिमा २४ हजार ७ सय १३ जनाको पासपोर्ट नवीकरण गरी वितरण गरेको समेत दूतावासको तथ्यांक छ।
त्यसैगरी नेपाली कामदार मगाउने रोजगारदाता कम्पनीको मागपत्रलाई पनि गम्भीरताका साथ हेरेर मात्र प्रमाणीकरण गर्ने गरेको कार्यवाहक राजदूत श्रीषले बताए। ‘भोलिका दिनमा समस्या नआओस् भन्नका लागि हामीले मागपत्रलाई निकै गम्भीरताका साथ हेरेर प्रमाणीकरण गर्ने गरेका छौं’, कार्यवाहक राजदूत श्रीषले भने, ‘मागपत्रलाई प्रमाणीकरण गर्दा सम्पनीका डाइसेक्टरसमेत उपस्थित हुनुपर्छ, त्यसो गरिएमा भोलिका दिनमा समस्या आउँदैन।’

मलेसिया सरकार र नेपाल सरकारबीच जिरो कस्टमा श्रमिक लैजाने सम्झौता भएपनि त्यो कार्यान्वयनमा नआउँदा केही समस्या भएको श्रिले बताए।

उनी भन्छन्, ‘आउँदा जिरो कस्टमै ल्याउने भनिन्छ तर त्यो भएको पाइएन। हामीले त्यसलाई हटाउन कोसिस गर्दै आएका छौं। त्यसमा नेपाली व्यवसायीले सहयोग गर्नुपर्यो।’

‘हामी स्तब्ध छौँ, अचम्म लागिरहेको छ। मलेसिया आउने कामदारले चर्को पैसा तिर्नु परेको छ। श्रम सम्झौतालगायत सबै कार्य कम्पनीले नै गर्छ। अहिलेसम्म हाम्रोमा दुई लाखभन्दा बढी फ्री भिसा फ्री टिकट खाली रहेको छ। मलेसियाले दुई महिनाभित्र ७० हजार कामदार माग गरेको छ। मलेसिया आउनेहरूलाई यताबाट फ्री भिसा फ्री टिकट नै हो। त्यसमा पैसा दिनु पर्दैन, यसमा स्वयम् रोजगारमा आउनेहरुले पनि विचार गरिदिनुपर्छ’, राजदूत श्रीषले सबैलाई सचेत रहन आग्रह गर्दै भने।
उनी भन्छन्, ‘यहाँ नेपालीहरूलाई खुब रूचाइन्छ। अहिले यत्रो थाहा पाउँदा पाउँदै पनि नेपालीहरू पैसा तिरेर मलेसिया आउँदैछन्। पैसा माग्ने कम्पनी भएपनि त्यो सबैभन्दा नराम्रो कम्पनी हो। यो कुरा बुझ्न पर्यो।’

कम्पनीले पैसा लिएको थाहा पाएमा कारवाही गर्ने र मेनपावर नै खारेज गरिदिने उनले चेतावनी दिए। ‘त्यति गरेर पनि कम्पनीले पैसा लिएको थाहा पाएमा हामी कारवाही गर्छाैँ। मेनपावर नै खारेज हुन्छ। त्यसैले मलेसिया रोजगारीका नाममा कुनै पनि कम्पनी तथा व्यक्तिले पैसा मागे वैदेशिक रोजगार विभाग अथवा आफू कार्यरत कम्पनीमा उजुरी गर्नू। त्यसरी उजुरी गरेमा लिएको पैसासमेत फिर्ता हुन्छ’, राजदूत श्रीषले भने।

प्रकाशित मिति: : 2022-07-14 22:05:00

प्रतिकृया दिनुहोस्