विश्वराज पोखरेलको रिट सर्वोच्चद्वारा खारेज

नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेलले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

सर्वोच्चले शुक्रबार आईजीपी नियुक्तिविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको हो।

सर्वोच्चका प्रवक्ता विमल पौडेलले पौडेलले कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले पोखरेलको मुद्दा खारेज गर्ने फैसला गरेको जानकारी दिएका छन्। यस्तै यसअघि तीन डीआईजीले दायर गरेको मुद्दा पनि खारेज गर्ने फैसला भएको छ।

आईजीपी नियुक्ति विरुद्धको मुद्दामा शुक्रबार विश्वराज पोखरेल पक्षका वकिलहरूले जवाफी बहस गरेसँगै फैसला आएको हो।

शुक्रबार निवेदक एआईजी पोखरेलको तर्फबाट वकिलहरू शतीशकृष्ण खरेल, रमेश बडाल, राधेश्याम अधिकारी, ललितबहादुर बस्नेत, हरिहर दाहा, सुनिल पोखरेल, पूर्णमान शाक्य र कृष्णप्रसाद भण्डारीले जवाफी बहस गरेका थिए।

गत १८ वैशाखमा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो। वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए।

सर्वोच्चको फैसलासँगै एआईजी पोखरेल धर्मसंकटमा परेका छन्। उनी गत वैशाखदेखि अफिस गएका छैनन्। कि राजीनामा दिने कि आईजीपी सिंहसँग मिलेर काम गर्नेबाहेक उनीसँग अर्को विकल्प छैन।

प्रकाशित मिति: : 2022-07-15 15:23:00

प्रतिकृया दिनुहोस्