अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धन गर्न कुटनीतिज्ञको भूमिका महत्वपूर्ण- मन्त्री श्रेष्ठ 

File photo
File photo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धनका लागि कुटनीतिज्ञहरूको भूमिका महत्वपुर्ण हुने बताएका छन्। 

हालै नियुक्त तथा प्रस्तावित विभिन्न देशका राजदुतहरूसँग मन्त्रालयले सोमबार गरेको अन्तर्क्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालमा विदेशी पर्यटकको आगमन बढाउन कुटनीतिज्ञहरुको भूमिका महत्वपूर्ण हुने बताएका हुन्। विदेशस्थित सबै नियोग परिचालन गरेर नेपालमा विदेशी पर्यटकको आगमन बढाउन सकिने मन्त्री श्रेष्ठकाे भनाइ छ।

उनले सबैको पहलमा विदेशी पर्यटक भित्र्याउन सके महामारीबाट थलिएको पर्यटन क्षेत्रले गति लिने विश्वास व्यक्त गरे। राजदूतावास, स्थायी नियोग, महावाणिज्य दूतावास तथा अवैतनिक वाणिज्य दूतावासहरूले पर्यटक आकर्षित गर्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए।

राजदूतहरूले व्यापार, लगानी , पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारमा भूमिका खेल्नुपर्ने  बताएका उनले पर्यटन विस्तारका लागि हवाइ उडानको भूमिका महत्वपूर्ण हुने र सरकारले हवाई यातायात र विमानस्थलहरलाई सुरक्षामैत्री बनाउने बताए।

 

प्रकाशित मिति: : 2022-07-11 17:52:00

प्रतिकृया दिनुहोस्