देउवा सरकार मृत भइसक्यो, यसले हैजा फैलाउँछ– ओली

File Photo
File Photo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वकाे गठबन्धन सरकार मृत अवस्थामा पुगेकाे टिप्पणी गरेका छन्।

पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सोमबार आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले मृत भइसकेको सरकारलाई बोकेर हिँड्न नहुने बताएका छन्।

‘यो निष्प्राण भइसक्यो, यसले हैजा फैलाउँछ, समाजलाई दूषित गराउँछ,’ उनले भने, ‘देशका लागि यो मृत भइसक्यो।’

नेपाल श्रीलंकाभन्दा तल पुग्ने खतरा देखियाे

उनले अहिलेको सरकारको कारण देश श्रीलंकाकाे बाटो लागेको बताएका छन्। यसकारण सबैजना सतर्क हुनुपर्ने अवस्था आएको उनको भनाइ छ।

ओलीले यस सरकारका अर्थमन्त्रीले अनाधिकृत तरिकाबाट बजेट निर्माण, कमिसनको खेलमा हतियार खरिद प्रकरण जस्ता पृष्ठभूमिले देशको अर्थतन्त्र श्रीलंकाको भन्दा तल पुग्ने खतरा देखिएको दाबी गरे।

बजेट निर्माणमा अनाधिकृत मान्छेहरू संलग्न हुने, व्यापारीका प्रतिनिधिहरू सेटिङअन्तर्गत लाभको हिसाबकिताब जोडघटाउ गर्ने जस्ता कारणले देशका अर्थतन्त्र ध्वस्त भएको उनको भनाइ छ।

कर दर, अन्तशुल्क छुट दिने जस्ता विषयमा अनाधिकृत मान्छे ल्याएर राष्ट्रिय बजेटलाई कमजोर र अर्थतन्त्रलाई नै ध्वस्त पार्नेगरी अवान्छित तत्वहरूको हात घुसाउने काम गरेको उनले बताए।

ओलीले भने, ‘हतियार खरिद न रक्षामन्त्री वा अर्थमन्त्रीले मात्र गर्न सक्छ। न बजेटमा यत्रो बदमासी अर्थमन्त्रीले मात्र गर्न सक्छ। अर्थमन्त्री एउटैको मात्र पनि चल्दैन र अर्थमन्त्रीको पृष्ठपोषणमा, हतियार खरिद प्रकरणमा गरिएका कुराहरू, पृष्ठभूमिमा देखिएको भरथेग त्यति सहज छैन भन्ने देखाउँछ। यसको प्रभाव कम्तिमा श्रीलंकमा पुग्ने लक्षण देखिँदैछ।’

प्रकाशित मिति: : 2022-07-11 16:44:00

प्रतिकृया दिनुहोस्