शान्त, सौम्य र सहनशीलताका प्रतिक ‘पुरुषोत्तम’ (भिडियाेसहित)

सुनिता लामा

काठमाडौं
Breaknlinks
Breaknlinks

पुगीसरी र हुनेखाने घरानामा जन्मिएतापनि ‘खाइमात र लाइमात’ले उनलाई कहिल्यै छोएन। काठमाडाैँको अति व्यस्त र विकसित सहर कालिमाटीमा वि.स. २०३७ साल असार २७ गते बुवा स्व. पञ्चनारायण महर्जन र आमा रत्नदेवी महर्जनको गर्भिलो कोखबाट तीनजना दिदीको ममतामयी र प्यारो भाइको रुपमा काखमा यस धर्तीमा पहिलोपटक आँखा उघारेका उनले कहिल्यै पनि अभावको आँसु, पारिवारिक पीडा र सांसारिक संकटको सामना बाल्यकालमा गर्नै परेन। त्यसो त परिवारको एक्लो छोरा मात्र थिएनन् उनी, तर तीन दिदीका प्यारो भाइ र एक बहिनीका आदरणीय दाजु पनि थिए।

हेर्दा शान्त, सौम्य र सहनशीलताका प्रतिमूर्ति झैँ देखिने पुरुषोत्तम महर्जनको बाल्यकाल अत्यन्त सुखद, अभावरहित, संघर्षरहित भएतापनि बालापनको चञ्चलेपन र चकचकेपन भने अन्य बालकमा झैँ उत्कट नै थियो। घर नजिकैको विष्णुमती खोलामा पौडी खेल्न जानु, साथीहरुसँग कीर्तिपुरको गाउँ घुम्न जानु, कक्षा छाडेर सिनेमा हेर्न जानु उनको लागि कुनै नौलो कुरो थिएन। तर उनको त्यो सुखद र रमाइलो बालापनको अन्त्य केही वर्षको लागि मात्र थियो भन्ने कुराको कहिल्यै कल्पनासम्म पनि नगरेका पुरुषोत्तमले अचानक एउटा अकल्पनीय ईश्वरीय शोकको बज्रपात सहनु पर्यो।

वि.स. २०४९ सालमा बुवा पञ्चनारायण महर्जनको पेटको क्यान्सरबाट भएको असामयिक निधनले उनको कलिलो बाल्यपन मात्र चुँडेर लगेन, परिवारको एक मात्र धरोहर, आमाको सहारा, चार दिदीबहिनीहरुको आड अनि भरोसाको खम्बा ढलेको थियो। जुन कहिल्यै उठ्ने सम्भावना नै थिएन।

बुवाको देहान्तपश्चात उहाँको सम्पूर्ण जिम्मेवारी १३ वर्षीय बालक पुरुषोत्तमको कलिलो काँधमा आइपर्नु त स्वभाविक नै थियो तर यो पीडा यति असहयनीय र पीडादायी थियो कि उनको त्यो बाल मस्तिष्कले त्यो तितो यथार्थलाई स्विकार्न निकै कठिन पर्यो।

सात कक्षामा पढ्दै गरेका उनलाई बुवाको अनुपस्थितिले यति धेरै विक्षिप्त बनाइदियो कि बुवाले गर्नुभएको त्यो माया, प्रेम, स्नेह, ज्ञान अनि आफ्नो हरेक मागलाई निशर्त पुरा गरिदिनुभएको प्रत्येक पल सम्झनु भन्दा अरु कुनै विकल्प नै रहेन। जसोतसो त्यो शोकलाई शक्तिमा परिणत गर्दै जीवनको यात्रा अगाडि बढाइरहँदा बुवा बितेको एक वर्ष पनि नबित्दै उनको ठुलो बुवाले परिवारमाथि लगाएको अंश मुद्धाले दिएको अर्को बज्रपातले उनको परिवार अझ धेरै विक्षिप्त भएको कुराले अहिले पनि भावुक हुन्छन्, उनी।

काँडाहरुकै बीचमा पनि सुन्दर गुलाफले आफ्नो सौन्दर्यतालाई पस्किन छाड्दैन भने झैँ पारिवारिक बिछोड र शोकले विक्षिप्त बनाएतापनि पुरुषोत्तमले आफ्नो पढाइलाई कुनै असर पर्न दिएनन्। कालिमाटीस्थित कुमुदिनी उच्च मा.वि. बाट अध्ययन सुरु गरेका उनले पढाइमा कहिल्यै दोस्राे हुनु त परेन नै त्योबाहेक विद्यालयमा हुने हरेक अतिरिक्त क्रियाकलापमा समेत सक्रिय सहभागी हुने गर्दथे। सानैदेखि अध्ययनशील, मेहनती र परीक्षणिक क्रियाकलापमा अत्यन्त चासोका साथ सहभागी हुने पुरुषोत्तम कक्षा दशमा पढदै गर्दा विज्ञान विषयअन्तर्गत मट्टितेल र पानी घुल्छ कि घुल्दैन भन्ने परीक्षण गर्दा घरमा ठुलो दुर्घटनाबाट जोगिएको स्मरण गर्छन्।

यसरी बुवाको निधनपश्चातका कठिन दिनहरुलाई पनि अध्ययन, अनुसन्धान, परीक्षण र अतिरिक्त क्रियाकलापको सहभागीतामा आफूलाई सक्रिय र अब्बल बनाउँदै लगेका उनले २०५३ सालमा एसएलसी उत्तीर्णपश्चात लैनचौरस्थित निष्ट कलेजमा कक्षा ११ मा पहिलो व्याचको विद्यार्थीको रुपमा भर्ना भइ उच्च शिक्षा अध्ययनको सुरुवात गरी कक्षा ११ र १२ मा कलेज टप मात्र गरेनन् तर आफू १२ पढ्दै गर्दा ११ का विद्यार्थीहरुलाई एकाउन्ट विषयको ट्युशनसमेत पढाउन थालिसकेका थिए।

आर्थिक हिसाबले राम्रै परिवारको एक्लो छोरो, १३ वर्षकै उमेरमा बुवाको निधन हुनुजस्ता थुप्रै कारणहरु थिए, उनीसँग कुलत र कुसंगतमा लाग्नको निम्ति। तर सानै उमेरदेखि नै पढाइमा अब्बल र मेहनती पुरुषोत्तम आदरणीय आमाको स्नेहयुक्त पालनपोषण र दिदीहरुको ममतामयी साथ, हौसला, प्रेरणा र निर्देशनलाई शिरोधार्य गर्दै स्वअनुशासनभित्र रहेर पढाइलाई नै जीवनको लक्ष्य बनाउँदै हिँड्दा कक्षा ११ मा एकाउन्ट विषयको नेपाल टप विद्यार्थीको रुपमा आफूलाई उभ्याउन सफल भएका थिए।

१२ कक्षामा अध्ययनरत रहँदा नै ११ कक्षालाई ट्युशन पढाएर आफ्नो कलेज फि आफैँ कमाउन थालिसकेका उनले बीबीएस भने पिपल्स क्याम्पसबाट उत्तीर्ण गर्दैगर्दा बीबीएसका विद्यार्थीहरुलाई पनि घरमा नै एकाउन्ट विषयको ट्युशन पढाएर आफूलाई उक्त विषयको उत्कृष्ट शिक्षकको रुपमा परिचित गराइसकेका थिए। बुवाको निधनपश्चात १३ वर्षको उमेरदेखि नै परिवारको जिम्मेवारी लिन थालिसकेका पुरुषोत्तमले दिदीहरुको विवाह, बुढ्यौली उमेरतिर ढल्कँदै गरेकी आमाको हेरचाह र बहिनीको शिक्षादिक्षाको समेत जिम्मेवारी कुशल ढंगबाट निभाउन सफल भए।

‘जीवनमा मैले कहिल्यै पनि आफूलाई हुनेखाने परिवारको ठानिनँ। आफ्नो क्षमताले भ्याउन्जेल दुःख पनि गरेँ र परिवारलाई कहिल्यै कुनै आर्थिक बोझ दिन चाहिनँ। बीबीएसलाई ट्युशन पढाउँदै गर्दा नै मलाई लागिसकेको थियो कि म यही शिक्षण पेशाकै लागि जन्मेको हुँ भनेर। अरुलाई पढाउँदै गर्दा आफूले झन धेरै पढ्ने मौका पाउँथे। जसको कारण स्नातकोत्तरमा पनि एकाउन्ट विषयमा आफूलाई अझ बढी अब्बल र सक्षम बनाउने मौका पाँए’, हर्षका साथ भन्छन् उनी।

पब्लिक युथ क्याम्पसबाट स्नातकोत्तर उत्तीर्ण गर्दैगर्दा बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म ट्युशन पढाउँदै आफ्नो विषयविज्ञता र व्यस्ततालाई अझ बढी परिष्कृत र परिमार्जित गर्नकै निम्ति केही साथीहरुसँग सहकार्य गरी एकाउन्टेन्सी कम्पनी स्थापना गरेका उनले विभिन्न संघसंस्था, कलेज, विद्यालयहरुमा अडिटरिङ्ग कार्य गर्दै जाँदा आफूले पढेको ज्ञानलाई व्यवहारमा उतार्ने मौका पाउनुका साथै कुनै पनि संघसंस्था वा कार्यालय कसरी र कुन प्रणालीअनुसार चल्दो रहेछ भन्ने कुराको यथार्थ ज्ञान पनि पाएको बताउँछन्।

अध्ययन, अध्यापन र अडिटिङ्गको काममा व्यस्त हुँदै गर्दा स्नातक तहमा नै एक असल मित्रको रुपमा नजिकिएकी सुन्दर, सुशिल, अध्ययनशील र मिजासिलो व्यवहारकी जिनु महर्जनसँगको यात्रा स्नातकोत्तरसम्म निरन्तर रह्याे। त्यसपछि एकअर्काबीचको मायाको अंकुरलाई फल्ने र फुल्न दिने उचित समयको आभाष दुवैतर्फबाट भएपछि वि.स. २०६३ साल माघ १५ गते उनै प्रेमिका जिनु महर्जनसँग वैवाहिक जीवनमा बाधिँएपश्चात जीवनको कुनै पनि मोडमा कहिल्यै एक्लोपनको महशुस गर्नु परेन उनले।

भाग्यमा लेखिएर मात्र हुँदैन तर आफ्नो मेहनत, लगानी र परिश्रमको पनि उत्तिकै भूमिका रहने गर्दछ भन्ने उक्ति पुरुषोत्तमको जीवनमा ठ्याक्कै लागु भएको पाइन्छ। घरको कौसीबाट थालिएको ट्युशन कक्षा लाजिम्पाटको ट्युशन सेन्टरको रुपमा स्थापना भइ दर्जनौँ विद्यार्थीहरु पढ्न आउँदै गर्दा नजिकैको सेन्ट लरेन्स कलेजमा एकाउन्ट शिक्षकको रुपमा पहिलोपटक कलेज पढाउन थाले। उनले आफनो विषयविज्ञतासँगै शान्त, सौम्य, सरल र सहनशील व्यवहारकै कारण उक्त कलेजका संस्थापक कनक बिक्रम जोशी र स्व. इन्दिरा जोशीले २०६३ साल चैत्रमा सिंगो कलेजको जिम्मेवारी सुम्पिदिएको स्मरण गर्छन्, उनी।

वि. स. २०६४ वैशाख १२ गतेबाट विधिवत रुपमा सेन्ट लरेन्स कलेजको एउटा नयाँ अध्याय सुरुवात हुँदा जम्मा १३ जना विद्यार्थीहरुको नेतृत्व गर्दै गर्दा पनि पुरुषोत्तम महर्जन कहिल्यै निरास र हतास भएनन्, तर आफूभित्रको आत्मविश्वास, कार्यदक्षता, क्षमता र योग्यतालाई अझ बढी व्यवहारमा, शिक्षणशैलीमा र कार्यशैलीमा उतार्दै निरन्तर अथक परिश्रमका साथ खटिरहे। फलस्वरुप २०६५ सालमा सेन्ट लरेन्स कलेजमा करिब ६०० भन्दा बढी विद्यार्थीहरु भर्ना भइरहँदा उनको खुशीभन्दा धेरै कलेजलाई विश्वास गरेर पढ्न आएका ती विद्यार्थीहरुको अभिभारा चाहिँ बढेको महशुस गरेका थिए उनले।

यसरी लाजिम्पाटबाट १३ जना विद्यार्थीसहित सुरु भएको सेन्ट लरेन्स कलेज हाल चाबहिलको पिपलबोटमा अवस्थित रहेकाे छ। करिब ३६ सयको हाराहारीमा विद्यार्थीहरु अध्ययनरत भइरहँदा उक्त एरियामा विद्यार्थी तथा अभिभावकको उत्कुष्ट रोजाइमा पर्न सफल मात्र छैन सेन्ट लरेन्स तर यसले त्यस दिनदेखि उता कहिल्यै पछाडि फर्केर र्हेनु परेको छैन।

‘मेरो सिंगो जीवन नै यही शिक्षा क्षेत्रमा नै समर्पित गरिहिँदा विभिन्न समस्या, बाधा, अड्चन र उतारचढावहरु थुप्रै पटक नआएका होइनन्, तर म यी सबै अवस्थाबाट भाग्ने, लुक्ने वा छल्ने होइन, यसलाई नयाँ कुरा सिक्न पाउने एक अवसरको रुपमा लिने गर्दछु। किनकि कुनै पनि घटना, आरोह, अवरोह, समस्या, सतावट, असफलताहरुले केही न केही नयाँ अवसर, उपाय र शिक्षा पनि सँगै लिएर आएको हुन्छ। त्यसैले यस्ता परिस्थितिहरुले कहिल्यै पनि मेरो आत्मविश्वास र मनोबललाई घट्न दिँदैन’, निर्धक्कताका साथ भन्छन् कलेजका प्रिन्सिपल महर्जन।

उन्नतिका खुड्किलाहरु क्रमश: उक्लिँदै जाँदा महर्जनले २०७६ माघदेखि कक्षा नर्सरीदेखि दशसम्मको सेन्ट लरेन्स विद्यालयको स्थापना गर्न सफल भए। स्थापनाकाे पहिलो वर्ष नै कोभिडको कहर त खेप्नु पर्यो नै तर कहिल्यै नसोचेको डिजिटल शिक्षण र प्रविधिमैत्री शिक्षण सिकाइले विद्यार्थी मात्र नभई प्रत्येक अभिभावकलाई समेत इन्टरनेट, सामाजिक सञ्जाल र प्रविधिको प्रयोगका साथै यसको उपयोगिताको समेत शिक्षा लिने र दिने सुवर्ण अवसर दियो।

समयको गतिशीलतासँगै यसको माग, आवश्यकता र समयसापेक्ष आफूलाई अद्यावधिक गर्दै मानवहितका कार्यहरु गर्दै जाने हो भने ती सबै कार्यहरु सर्वोत्तम र सफल हुने गर्दछ भन्ने कुरा आफनो जीवनमा लागु भएको बताउने पुरुषोत्तम सेन्ट लरेन्स स्कुल/कलेजका संस्थापक/प्रिन्सिपलका साथै कपनस्थित त्रिज्योति उच्च मा.वि. लाई समेत अभिभावकत्व प्रदान गरिरहेका छन्। उनको शिक्षाप्रतिको लगनशीलता, दक्षता, कार्यकौशलता र सफल अनि सबल नेतृत्वको कदर स्वरुप उनी ज्यापु सरस्वती पदक २०७३, बेष्ट परफरमेन्स अवार्ड २०७४ जस्ता थुप्रै पदक तथा सम्मानहरुद्वारा विभुषित भइसकेका छन्।

मेहनती विद्यार्थी, सबल र सक्षम अनि दक्ष प्राध्यापक/शिक्षक, उत्कृष्ट कर्मचारी र आदरणीय अभिभावकको विश्वाससहितको सर्वाेत्तम टिमकै कारण यी सबैको एकमुष्ठ नतिजा स्वरुप सेन्ट लरेन्स कलेजले २०७८ मा बेष्ट एकेडेमिक अवार्ड, २०७९ मा शिक्षा सेवा सम्मान, बेस्ट स्टुडेन्ट अफ द एयरको अवार्डलगायत विभिन्न सम्मान पत्रहरुले पुरस्कृत हुन सफल भएकोमा अत्यन्त गौरवान्वित महशुस गर्छन्, पुरुषोत्तम।

‘कुनै पनि संघसंस्था वा संगठन मजबुत र दीर्घकालीन हुनको निम्ति दक्ष कर्मचारी, उत्कृष्ट र पारदर्शी व्यवस्थापन, विभेदरहित विधिविधान, उचित दण्ड/पुरस्कार तथा सही व्यक्ति, सही ठाउँमा रहि सही समयमा सही निर्णय गर्न सक्षम हुनुपर्दछ। तब मात्र उक्त संस्थाले दिने योगदान एउटा समुदायलाई मात्र नभई सिँगो राष्ट्रको निम्ति उल्लेखनिय हुन सक्छ’, गौरवताका साथ भन्छन् महर्जन।

जीवनमा अझै धेरै कामहरु गर्न बाँकी नै छ सेन्ट लरेन्सलाई। अझै बढी समय सापेक्ष, समय सान्दर्भिक, परिष्कृत, परिमार्जित र नतिजामुखी, व्यवसायिक तथा व्यवहारिक शिक्षा केन्द्रको रुपमा अघि बढाउँदै लैजाने योजना रहेको बताउने पुरुषोत्तम अत्यन्त साधारण जीवनशैलीमा विश्वास गर्छन्। जीवन जन्म र मृत्युबीचको एक यात्रा हो, जहाँ आइपर्ने माया-प्रेम, मिलन-बिछोड, दुख-सुख, सफलता-असफलता जस्ता सबै परिस्थितिमा अडिग रहि मृत्युको अन्तिम घडिसम्म यो यात्रालाई निरन्तर जारी राख्नुपर्छ तर आफ्नो लागि भन्दा अरुको निम्ति प्रेरणा, हौसला र आदर्शको जीवन जीउनु चाहिँ जीवनको सार्थकता हो भन्ने आध्त्यात्मिक विचार व्यक्त गर्छन्।

‘प्रेम बिना यो संसारको कल्पना पनि गर्न सकिँदैन’, उनी भन्छन्, ‘प्रेमले नै मानव जीवनलाई निरन्तर जीवित बनाइराख्दछ। किनकि प्रेम निस्वार्थ, निष्कलंक, निर्मल र निशर्त हुने गर्दछ। जसले मानवलाई आध्यात्मिक र भावनात्मक बाटोमा डोर्याउँदछ।’

बाल्यकालमा बुवाको निधन हुँदाको क्षण जीवनको अत्यन्त दुखद र पहिलो सन्तान छोरा पुजेन महर्जन जन्मँदाको क्षण जीवनको अत्यन्त खुशीको क्षण भएको उनी बताउँछन्। उनी जीवनको २५ औँ वर्षहरु शिक्षा क्षेत्रमा लगानी गरिरहँदा कोही कसैले पनि यो नितान्त व्यापार  व्यवसायको रुपमा मात्र नहेरिदियोस्, तर सेन्ट लरेन्सले पनि नेपालको शैक्षिक क्षेत्रमा उत्कृष्ट र दक्ष जनशक्ति उत्पादनमा एउटा इँटा थप्ने काम गरिरहेको छ भन्ने सत्यतालाई स्वीकार गरिदिएमा आफू सबैप्रति आभारी रहने विचार अभिव्यक्त गर्छन्, पुरुषोत्तम महर्जन।

प्रकाशित मिति: : 2022-07-12 16:44:00

प्रतिकृया दिनुहोस्