एसपीपी कुनै पनि हालतमा स्वीकार्य हुँदैन: माधवकुमार नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्। 

एकीकृत समाजवादी निकटको युवा संघ नेपालको उपत्यका युवा वशिेष जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष नेपालले एसपीपी खारेज हुने स्पष्ट पारेका हुन्। 

एसपीपीको विषयमा आफूलगायत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवका बीचमा आजै छलफल भएको बताउँदै उनले यसलाई अस्वीकार  गरिने बताए। 

नेपालले २०१५ मा तत्कालीन सेनापति राजेन्द्र क्षेत्रीको हस्ताक्षरमा अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि सोही सन्दर्भमा छलफल भएको उनले जानकारी दिए। 

‘यस सन्दर्भमा आज बिहान मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र जसपा अध्यक्ष उपेन्द्र यादवसहित हामी बसेका थियौं’ अध्यक्ष नेपालले भने, ‘यो प्रसंगदेखि अनेक प्रसंगमा कुरा हुँदाखेरी प्रधानमन्त्रीसँग फेरि कुराकानी गरौं। र यो राष्ट्रिय अन्योललाई चिर्नका लागि हामीले छलफल गरेर सत्यतथ्य जनताका माझमा प्रस्तुत गरौं भन्ने कुरा गरेका छौं।’

त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधान सेनापति प्रभुराम शर्माले एसपीपीको विपक्षमा रहेको बताएपछि आफूहरु ढुक्क भएको भए पनि पछिल्लो पटक सार्वजनिक पत्रले अलमल पारेको उनको भनाइ थियो।

‘अर्को कागज आइपुग्यो, नेपाली सेनाका प्रमुखले नै हस्ताक्षर गरेको। कुन सरकारको पालामा र को प्रधानमन्त्री हुँदा भन्ने कुरा पनि उठ्यो। उठ्दै जाँदा फेरि संसद्मा जसले आवाज उठाएका थिए, जोडदार रुपमा हंगामा गरेका थिए। त्यही पार्टी जोडिएको कुराहरु आएको छ’ नेपालले भने, ‘के खाएर पत्र लेखे, के खाएर हो कि निदाएर सम्झौता अगाडी बढाएका छन् त्यो थाहा भएन्।’

अध्यक्षमा सुशिल भट्टराई

यसैगरी उक्त कार्यक्रममा  युवा संघको उपत्यका युवा विशेष जिल्ला कमिटीको अध्यक्षमा सुशिल भट्टराई सहितका सदस्यहरुलाई अध्यक्ष नेपालले सपथ गराएका छन्। 

भट्टराईको नेतृत्वमा घोषणा भएको ३१ सदस्यीय कमिटीको सदस्यमा अनिल बोगटी, नरेश गिरी, जमुना सनम, बिपिन वनिम, राजु सुनम, पुजा राई, राजेन्द्र तिमिल्शेना, नबिन पौडेल, तेन्जिङ भुटिया, बाबुराम न्यौपाने, कृष्ण आचार्य, शुसिल खनाल, दिपेशमान सिह थापा, हरिस चन्द्र बज्राचार्य रहेका छन्। 

यसैगरी सदस्यहरुमा मैया थापा, प्रकाश पन्त,  मन्जु थापा, रोशन ज्ञवाली, निरबहादुर श्रेष्ठ, सन्तोष राई, देवराज कंणेल, हरी शरण रेग्मी, अर्जुन पौडेल, सुदन गैरे, मिखलेस यादव, दिपु खड्का, हरी आचार्य, विकाश रेग्मी, धुर्व अधिकारी र बुद्द लामा रहेको युवा संघका उपमहासचिव एवं प्रवक्ता संजिप राईले बताए।
 

प्रकाशित मिति: : 2022-06-18 20:12:00

प्रतिकृया दिनुहोस्