नाबालिग आमा: बिहे नहुँदै छोरीको जन्म, रोएपछि हत्या 

Symbolic photo
Symbolic photo

दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरिया निवासी एक १५ वर्षीया नाबालिगले बिहे नहुँदै छोरीलाई जन्म दिइन्। उनले यही जेठ ९ गते छोरीलाई जन्म दिएकी हुन्।

छोरीको जन्म भएपछि उनलाई एउटा चिन्ता बढ्यो। त्यो चिन्ता थियो, बिहे नहुँदै छोरी जन्मनु। यसै त नेपाली समाजमा बिहे नहुँदै बच्चा जन्माउनुलाई राम्रो मानिदैन। यही नराम्रो कुरा बाहिर आउने डरमा ती १५ वर्षीया नाबालिग पनि थिइन्।

साथै उनलाई अर्को चिन्ता पनि थपियो। बच्चा त जन्मियो, तर दूध आउन सकेन। दूध नआएपछि छोरी रोइरहने भइन्। गएराति (मंगलबार राति) पनि १५ वर्षीया ती नाबालिगले नवजात शिशुलाई दूध खुवाउँदै थिइन्।

तर दूध आएन, शिशु रोइरहिन्। त्यसपछि भने आमा बनेकी नाबालिग शिशुको हत्या गर्ने योजनामा पुगिन्। र शौचालयको सेफ्टी ट्यांकीमा लगेर शिशुलाई फालेर हत्या गरिन्।

उनले शिशुको गएराति हत्या गरेकी हुन्। त्यसपछि बिहान ४ बजे मात्र उनले शिशु हराएको गाउँमा पनि जानकारी गराइन्। आफू शौचालय गएको समयमा शिशु हराएको जानकारी गराएपछि सबैले खोजी गरेर सेफ्टी ट्यांकीमा शिशुलाई मृत अवस्थामा फेला पारे। त्यसपछि स्थानीयले प्रहरीलाई खबर पनि गरे।

प्रहरीले घटनास्थल पुगेपछि शंकास्पद देखेर नाबालिग आमालाई पक्राउ गर्यो। सोधपुछ गर्दा पछि नाबालिग आमाले आफैँले सेफ्टी ट्यांकीमा फालेर शिशुको हत्या गरेको साबिती बयान दिएकी छन्।

‘दूध नआउने, छोरी रोइरहने गरेपछि आफैँले सेफ्टी ट्यांकीमा शिशु फालेको आमाले बताएकी छन्’, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले भने।

विवाह गर्ने सर्तमा नाबालिगको प्रमी गणेश घर्तीसँग शारीरिक सम्बन्ध भएको थियो। घर्तीसँगको शारीरिक सम्बन्धबाट नै उनले छोरीको जन्म दिएका प्रहरी समक्ष बयान दिएकी छन्। 

नाबालिगको प्रेमी घर्ती भने कामको शिलसिलामा जिल्ला बाहिर रहेका छन्।

प्रकाशित मिति: : 2022-06-08 21:50:00

प्रतिकृया दिनुहोस्