साउदीमा अलपत्र ५० नेपाली युवाको चित्कार : उद्धार नगरे सामूहिक आत्महत्या गर्छाैँ

बिएल संवाददाता

दाेहा (कतार)

राेजगारीकाे लागि साउदी अरबिया पुगेका ५० नेपाली अलपत्र परकाे छन्। काठमाडौँस्थित टोकियो ओभरसिज, वर्क फोर्स सर्भिसेज र डि.प्रोटोन म्यानपावर प्रा.लि.मार्फत त्यहाँ पुगेका उनीहरू सम्झाैता अनुसारकाे काम र पारिश्रमिक नपाउँदा समस्यामा परेका हुन्।

समस्यमा परेका उनीहरूलाई रियादस्थित नेपाली दूतावासका प्रतिनिधि, पीडित नेपाली युवाहरू र त्यहाँ पुगेका वर्क फोर्स सर्भिसेज प्रा.लिका म्यानेजर कम्लेस तिवारीबीच अलपत्र ५० नेपाली युवालाई नेपाल फर्काउने सहमति भएकाे थियाे। तथापि, तिवारीले सहमतिअनुसार काम नगरेपछि उनीहरू थप समस्यामा परेका हुन्।

त्रिपक्षीय छलफलमा वर्क फोर्सका म्यानेजर तिवारीले एक्जिट लागेका ३३ जना र हुरुप लागेका १७ जनालाई स्वदेश फर्काउने प्रतिबद्धता जनाएर बाहिर निस्कन साथ पीडितहरूको कोठामा पुगेर धम्क्याएका थिए।

दूतावासको छलफलमा १५/२० दिनमा स्वदेश फिर्ता गर्छु भनेका म्यानेजर तिवारीले आफूहरू बस्ने कोठामा आएर ‘काम गर्ने भए गर, म कम्पनी खोजेर काम लगाइदिन्छु होइन भने मैले नेपाल पठाउँदिनँ’ भनेको सुनसरीका महमद राम्जान मियाले गुनासो गरे। पीडितहरूले भने एक्जिट र हुरुप लागेकाहरुले काम गर्न नपाउने गरेको सुनाए। तिवारीले पटक–पटक आफूहरुलाई राम्रो काम लगाइदिन्छु भनेर झुक्क्याएको भन्दै उनीहरूले तत्काल घर फिर्ता नगरे सामूहिक आत्महत्या गर्ने चेतावनी दिएका छन्।

अर्का पीडित दिपेशकुमार झाले तिवारीले न्याय माग्न साउदी लेबरकोट जान चुनौती दिएको बताए। काठमाडौँको टोकियो ओभरसीज, वर्क फोर्स सर्भिसेज र डि.प्रोटोन म्यानपावर प्रालिमार्फत् साउदीमा रहेको अलमराजमा रहेको डेलिभरी टाइम कम्पनीमा पोल्टी फर्मको काममा भनेर त्यहाँ पुगेका थिए।

म्यानपावरले सम्झौता गरेअनुसारको काम र तलब नपाए पनि कम्पनीमा काम गरिरहेका उनीहरुमध्ये ७ जनालाई एक नेपाली गणेश कार्कीले अर्को ठाउँ काम गर्न लगेका थिए। अर्को ठाउँमा लिएका उनले काम नलगाई जेलमा हालेपछि पीडितहरूले काम बन्द गरेका थिए।

कम्पनीले बिना कारण साथीहरूलाई जेल हालेपछि काम बन्द गरेका उनीहरुलाई कम्पनीले कामबाट निकालिदिएको हो। पीडितहरूले काम गरेको दुई महिना १० दिनको तलब समेत पाएका छैनन्। उनीहरूले म्यानपावर तथा विभिन्न एजेन्टहरुलाई प्रतिव्यक्ति १ लाख ८० हजारदेखि २ लाखसम्म बुझाएर करिब ७ महिनाअघि त्यहाँ पुगेका थिए।

यसअघि टोकियो म्यानपावरका अध्यक्ष सुरिन गौतमले आफूहरूले वैदेशिक रोजगार विभागमार्फत नेपाली दूतावासलाई पत्र लेखी पठाएको र दूतावासले साउदी लेवरकोटसँग समन्वय गरेर उद्धार गर्ने बताएको जनाएका थिए।

उनीहरुको उद्धार हुन्छ : म्यानेजर तिवारी

पीडितहरूको समस्या समाधान गर्न भन्दै तीन वटै म्यानपावरको नेतृत्व गर्दै साउदी पुगेका वर्क फोर्स सर्भिसेज प्रा.लि.का म्यानेजर कम्लेस तिवारीले पीडित युवाहरुको समस्या समाधान गरेर मात्र नेपाल फर्कने बताएका छन्।

‘उनीहरूले काम बन्द गरेपछि कम्पनीले निकाल्याे, त्यसपछि अलपत्र परे। उनीहरू अलपत्र परेपछि म आफै समस्या समाधान गर्न यहाँ आएको हुँ,’ म्यानेजर तिवारीले भने, ‘चार वटा राम्रो – राम्रो कम्पनी देखाएँ तर, उनीहरूले काम गर्न मानेनन् अब नेपाल लिएर फर्कन्छु।’

कम्पनीसँग झगडा गरेर जेल परेका ७ जना नेपाली पनि एक हप्ता भित्र स्वदेश फर्काउने पहल भइरहेको उनले बताएका छन्।

प्रकाशित मिति: : 2022-06-06 11:58:00

प्रतिकृया दिनुहोस्