म्यान्मारमा सैन्य क्रूरता झन् अचाक्ली, ३० वर्षपछि मृत्युदण्डको घोषणा

बिएल संवाददाता

रंगुन, म्यान्मार

म्यान्मारको सैन्य सरकारप्रति वफादार बन्दै एक अदालतले नेत्री आङ सान सुकीको नेतृत्वकाे पार्टी ‘नेशनल लिग फर डिमोक्रेसी पार्टी (एनएलडिपी)’ का पूर्व सदस्य र एक प्रतिष्ठित प्रजातन्त्रवादी अधिकारकर्मीलाई मृत्युदण्ड दिने सरकारी निर्णयलाई सदर गरेको छ। 

उनीहरू दुवैलाई आतंकवादलाई प्रश्रय गरेको भन्दै दोषी ठहर गरिएको हो। 

सन् १९९० देखि देशमा अदालतले मृत्युदण्डलाई सदर गरेको यो पहिलो घटना भएको अधिकारीहरूले जनाएका छन्।

प्रवक्ता जाउ मिन तुनले भने, 'पूर्व सांसद फियो जेया थाउ र प्रजातन्त्रवादी अधिकारकर्मी को जिम्मीसहित चार जनालाई मृत्युदण्डको सजाय सुनाइएको हो। उहाँहरूलाई जेलको प्रक्रिया अनुसार फाँसी दिइनेछ।'

सैनिक सरकार जुन्ताले गत वर्ष सत्ता कब्जा गरेपछि भएका झडप तथा दमनका क्रममा दर्जनौं ‘सैनिक विद्रोह’ विरोधी कार्यकर्ताहरूलाई मृत्युदण्डको सजाय सुनाएको हो। म्यान्मारले सन् १९९० पछि अदालती प्रक्रियाबाट मृत्युदण्डलाइ सदर गरेको थिएन।

गत नोभेम्बरमा गिरफ्तार भएका आङ सान सुचीको नेशनल लिग फर डेमोक्रेसीका सदस्य फियो जेया थाउलाई आतंकवाद विरोधी कानून अन्तर्गत अपराधका लागि जनवरीमा मृत्युदण्डको सजाय सुनाइएको थियो।

‘जिम्मी’ भनेर चिनिने प्रजातन्त्रवादी प्रसिद्ध अभियन्ता क्यो मिन युले पनि अर्थसैन्य न्यायिक निकायबाट सोही कसुरमा सजाय तोकिएको हो। 

जुन्ता प्रवक्ता जाउ मिन तुनले भने, 'उनीहरूलाई सजायमाथि पुनः अवलोकनका लागि निवेदन गर्ने र पठाउने कानुनी प्रक्रियालाई निरन्तरता दिएको तर अदालतले उनीहरूको मागलाई अस्वीकृत गरेको छ।'

मृत्युदण्डको कुनै मिति नतोकिएको प्रवक्ता तुनले बताएका छन्। 

सैन्य जुन्ता र अदालतले मानवअधिकारको गम्भीर उल्लंघन गरेकाे राष्ट्रिय एकता सरकारका मानवअधिकार मन्त्री आङ म्यो मिनले दाबी गरेका छन्। 'म्यान्मारमा कानूनको शासन लोप भएको संकेत हाे, याे। हजाराैँ मानिसहरूले आफ्नो अधिकार गुमाएका छन्,' उनले भने।

प्रकाशित मिति: : 2022-06-04 04:59:00

प्रतिकृया दिनुहोस्