निजगढ विमानस्थल बनाउने प्रक्रिया अघि बढाइनुपर्छ : सांसद देवकोटा

file photo
file photo

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सुरु भएको सैद्धान्तिक छलफलमा स्वतन्त्र सांसद खिमलाल देवकोटाले बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउन माग गरेका छन्।

निजगढ विमानस्थल नबनाउने र बनाउन नदिने चलखेलले चिन्ता बढेको भन्दै उनले निजगढ विमानस्थल बजेटमा समावेश भएकाले कार्यान्वयन हुनुपर्नेमा जोड दिए।

सर्वोच्च अदालतको हालैको फैसलाले निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि नबढाउन आदेश दिएको थियो। तथापि, सरकारको नीति तथा कार्यक्रम र बजेटमा निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने समावेश गरिएको छ।

यो विमानस्थल निर्माणका लागि हालसम्म नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले रु तीन अर्ब खर्च गरिसकेको छ। विमानस्थल क्षेत्रमा पर्ने आठ हजार ५० हेक्टर जग्गा विमानस्थलका नाममा आइसकेको प्राधिकरणले जनाएको छ।

नेपाली कांग्रेसका सांसद कमलादेवी पन्तले कृषि र किसानलाई प्रोत्साहन हुनेगरी आएको बजेट जनताप्रति जिम्मेवार र जवाफदेही रहेको धारणा राखिन्। उनले बजेटले ‘समान कामका लागि समान ज्याला’लाई प्राथमिकता दिएकोप्रति सकारात्मक टिप्पणी गरिन्।

नेकपा (एमाले)का सांसद गोपाल भट्टराईले हचुवाको भरमा आएको बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको टिप्पणी गरे।

प्रकाशित मिति: : 2022-05-31 13:51:00

प्रतिकृया दिनुहोस्