जेलबाटै रेश्म चौधरीको राजनीति : एमाले-कांग्रेसलाई पछि पार्दै नागरिक उन्मुक्ति पार्टी बन्याे पहिलाे

फाइल तस्विर
फाइल तस्विर

निलम्बित सांसद रेशम चौधरीको रिहासँगै उत्पीडित समुदायको अधिकार प्राप्तिका लागि भन्दै गठित नागरिक उन्मुक्ति पार्टी कैलालीमा पहिलो दल भएपछि चर्चाको विषय बनेको छ।

गएको १९ पुसमा पार्टी दर्ता भएको हो। दर्ता भएको चार महिनापछि निर्वाचनमा जाँदा पार्टी कैलालीमा पहिलो बन्‍न सफल भएको हो।

पार्टी गठबन्धनको योजनाकार रेशम भने जेलमै छन्। ७ भदौ २०७२ मा भएको टीकापुर घटनामा उनी अदालतबाट दोषी ठहरिएका हुन्।

जेलमै रहेर समर्थकहरूलाई पार्टी दर्ता गरी निर्वाचनमा जान सुझाएका चौधरीको पार्टी अन्ततः स्थापित राजनीतिक दलहरूलाई पछि पार्दै पहिलो बनेपछि चर्चामा आएको हो।

पार्टी केन्द्रीय सदस्य योगेन्द्र तामाङले निर्वाचनमार्फत पार्टीलाई कैलालीका जनताले रुचाएको प्रतिक्रिया दिएका छन्।

निर्वाचन आयोगले जनाएअनुसार ७५ वर्षे इतिहास बोकेको स्थापित दल नेपाली कांग्रेसलाई पछि पार्दै नागरिक उन्मुक्ति पार्टी पहिलो बनेको हो।

जिल्लाको १३ स्थानीय तहमध्ये उक्त पार्टीले सर्वाधिक ४ स्थानीत तहमा निर्वाचन जितेको छ।

कांग्रेसले ३, एमाले र माओवादीले समान २ र नेकपा एकीकृत समाजवादी पार्टीले १ स्थानीय तह जितेको छ।

निर्वाचन आयोगले अद्यावधिक गरेको विवरणलाई आधार मान्दा नागरिक उन्मुक्ति पार्टीले जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका र भजनी नगरपालिका जितेको हो।

कांग्रेसले कैलारी गाउँपालिका, गोदावरी र लम्कीचुहा नगरपालिका तथा एमालेले चुरे गाउँपालिका र बर्दगोरीय गाउँपालिकामा निर्वाचन जितेको आयोगले जनाएको छ।

आयोगका अनुसार माओवादीले गौरीगंगा नगरपालिका र मोहन्याल गाउँपालिका तथा एकीकृत समाजवादीले घोडाघोडी नगरपालिकामा निर्वाचन जितेका हुन्।

प्रकाशित मिति: : 2022-05-22 18:35:00

प्रतिकृया दिनुहोस्