उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेकाे बताएका छन्।
सोमबार बागलुङको ढोरपाटन नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र अरू दललाई समेत मिलाएर बनेकाे सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेको बताए।
उनले वर्तमान सरकार नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउन तर्फ लागेको भन्दै अहिलेकाे सत्तागठबन्धन स्थिर सरकारकाे जनचाहना अनुसार नै बनेकाे दाबी गरे।
राजनीतिक अस्थिरताका कारण विकासले गति लिन नसकेको भन्दै उपप्रधानमन्त्री सिंहले लामो समयदेखि रोकिएका कामहरू अहिले सुचारु भएको बताए। सरकारका विषयमा विभिन्न व्यक्तिहरूले नकारात्मक टीकाटिप्पणी गरे पनि अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म चल्ने प्रष्ट पारे।
त्यस्तै फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले देशभर सुरक्षित र व्यवस्थित शहर बनाउन शहरी विकास मन्त्रालयले काम गरिरहेको बताए। नयाँ सहर आयोजनाको कामलाई तीव्रता दिन र आवश्यक बजेट व्यवस्थापनमा आफू प्रतिबद्ध रहेको उनको भनाइ छ।
‘स्थानीय सरकार जनताको नजिकको सरकार हाे। तीनै तहका सरकार जनताको समस्या समाधान गरि समृद्ध मुलुक निर्माणका लागि बनेको हो,’ उनले भने, ‘सरकारको स्थायित्व नहुँदा जनतामा निराशा थियो। नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दल मिलेर सरकार बनाएपछि आशा जगाउने काम गरेका छौं।’
सिंहले प्राप्त उपलव्धिको रक्षा गर्न र विकासको आकांक्षा पूरा गर्न सरकारले काम गरिरहेको बताए।