वडामा गुड फाइट गरिरहेका छौं, जित्ने आशा अझै छ : सिर्जना सिंह

काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले जित्ने आस अझै नमरेको बताएकी छन्।

राष्ट्रियसभा गृहस्थित मतगणनास्थलमा पहिलोपटक पुगेकी सिर्जनाले आफू जित्ने आशा अझै रहेको बताएकी हुन्।

‘कतिपय वडामा हामी जितिरहेका छौं, अझै पनि जित्ने आशा छ। वडाहरूमा पनि राम्रै आइरहेको छ। नआएका वडाहरूमा गुड फाइट दिइरहेका छौं,’ सिर्जनाले भनिन्।

अहिले मतपरिणामलाई आफूले सहज रूपमा लिइरहेको भन्दै मतगणना अझै बाँकी रहेकाले अहिले मत परिणामबारे बोल्दा हतार हुने उनले बताइन्।

‘मैले सहज रूपमै लिएकी छु। मैले एक भोटको पनि सम्मान गर्छु। त्यो विषयमा मैले ध्यान दिएकी छैन। सबै परिणाम आइसकेपछि बोल्छु,’ उनले भनिन्, ‘अहिले नै मतपरिणामबारे बोल्दा हतार हुन्छ। सकिसकेको वडाहरूमा यो भन्दा राम्रो हुनुपर्थ्याे भन्ने हो। सोचेको भन्दा कहिँ नराम्रो पनि भएको छ, कहिँ राम्रो पनि भएको छ।’

स्वतन्त्र उम्मेदवारले के कारणले बढी मत पाइरहेका छन् भन्ने विषयमा अहिले नै बोल्दा हतार हुने उनले बताइन्। अझै पनि मतगणना बाँकी नै रहेकाले जितबारे अहिले नै भन्न सकिने अवस्था नरहेको उनको भनाइ छ।

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह अग्रस्थानमा छन्। दोस्रो स्थानमा एमालेका केशव स्थापित र तेस्रो स्थानमा सिर्जना छिन्।

प्रकाशित मिति: : 2022-05-19 15:48:00

प्रतिकृया दिनुहोस्