थबाङमा गठबन्धन र माओवादी कार्यकर्ताबीच झडप, एमालेका १२ कार्यकर्ता सम्पर्कविहीन

बिएल संवाददाता

थबाङ, रोल्पा
File Photo
File Photo

राेल्पाकाे थबाङस्थित उवामा 'एमाले–कांग्रेस' गठबन्धन र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ।

बिहिबार बेलुकी करिब साढे ८ बजेतिर दुई समूहबीच झडप भएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएकाे छ। 

भोलि हुने स्थानीय तह निर्वाचनको लागि मतदान केन्द्र व्यवस्थापन गरेर घर फर्कदै गरेका गठबन्धनका कार्यकर्तालाई माओवादी केन्द्रका कार्यक्रर्ताले बाटो छेकेर आक्रमण गर्न खोज्दा झडप भएको हो।

झडपपछि 'एमाले–कांग्रेस'का करिब १२ जना कार्यकर्ता सम्पर्कविहीन भएकाे नेकपा (एमाले)का केन्द्रिय सदस्य तथा उवाका स्थानीय नवीन रोकामगरले बताएका छन्।

स्राेतका अनुसार झडपमा परी गठबन्धनका कैयाैं स्थानीय नेता–कार्यकर्ता घाइते भएका छन्। कतिपय एमाले–कांग्रेसका नेताहरूले थुप्रै कार्यकर्ताहरू सम्पर्कविहीन हुँदा मानवीय क्षति भएकाे हुनसक्ने आशंका गरेका छन्। तर बिएल नेपाली सेवाले यसकाे स्वतन्त्र पुष्टि गर्न सकेकाे छैन।

गठबन्धन र माओवादीका कार्यकर्ताबीच बेलुकी साढे ८ बजे उवाको तेलखोलामा झडप भएको भने रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले पुष्टि गरेका छन्। अहिले घटनास्थल तर्फ सशस्त्र प्रहरीको एक टोली गइरहेकाे उनी बताउँछन्।

घटनाको यकिन विवरण आउन बाँकी छ।

प्रकाशित मिति: : 2022-05-12 22:12:00

प्रतिकृया दिनुहोस्