दुई दिन पैदल हिँडेर मतदान केन्द्रमा पुगे सुरक्षाकर्मी र कर्मचारी

file photo
file photo

मतदान गर्ने समय नजिकिएसँगै हिमाली जिल्ला मनाङको दुर्गममा रहेको नार्पाभुमी गाउँपालिकामा दुई दिनको पैदल यात्रा पछि कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेका छन्।

सोमबार बिहान मनाङको सदरमुकाम चामेबाट हिँडेका कर्मचारी मंगलबार मतदात केन्द्रमा पुगेका हुन्। उनीहरुले मतदान केन्द्रहरूमा सूचना टाँस गर्ने, चारकिल्ला तोक्ने लगायतका गतिविधिहरू गर्नेछन्।

मनाङका चार वटै स्थानिय तहका मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेको जिल्ला निर्वाचन कार्यालय मनाङका निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए। मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यका अनुसार मनाङको नार्पाभुमी गाउँपालिकाको ५ वटा मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन्। स्थानीय तहको निर्वाचनका लागि मनाङमा दुई सय बढी कर्मचारी र ७ सय बढी सुरक्षाकर्मी खटीएका छन्।

निर्वाचनका लागि मनाङमा २८ वटा मतदान केन्द्र कायम भएको छ। मनाङमा नासों गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकामा नौ–नौ मतदान केन्द्र, चामे गाउँपालिका र नार्पाभूमि गाउँपालिकामा पाँचवटा मतदान केन्द्र कायम भएको छ। मनाङमा ६ हजार ४ सय ९६ मतदाता छन । जसमा महिला ३ हजार ३ सय ४८ र पुरुष ३ हजार १ सय ४८ छन्।

प्रकाशित मिति: : 2022-05-11 18:37:00

प्रतिकृया दिनुहोस्