गाउँदेखि शहरसम्म स्थानीय तह निर्वाचनको माहोल तातिएको छ। काठमाडौं, पोखरा, भरतपुर र धनगढीमा सत्ता गठबन्धनका शीर्ष नेताहरू सँगसँगै भेटिन्छन्। तर माओवादी प्रभाव क्षेत्र रोल्पा–रुकुम भने रणभूमि बनिरहेको छ।
केन्द्रमा ‘कांग्रेस–माओवादी’ बीच चुनावी गठबन्धन भएपनि रोल्पा–रुकुममा भने फरकफरक कित्तामा उभिएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सत्ता स्वार्थ मिलेपनि युद्ध प्रभावित क्षेत्रका कार्यकर्ताहरू मिल्न सकेका छैनन्। बरू, कांग्रेस नेता–कार्यकर्ताहरूले यी क्षेत्रका प्रायः पालिकामा नेकपा (एमाले) सँग चुनावी तालमेल गरेका छन्।
दश वर्षे जनयुद्धको माओवादी आतंकबाट थलिएका नेपाली कांग्रेसका कार्यकर्ताहरू फेरि उनै माओवादी कार्यकताबाट कुटिन बाध्य छन्। युद्धदेखि शान्तिसम्म निरन्तर २६ वर्ष माओवादी आतंकले रोल्पाली कांग्रेसहरू आजित बनेको नेपाली कांग्रेस रोल्पाका सह–सचिव सुनिलकुमार वली बताउँछन्।
०००
सोमबार राति रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–३ दहमा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। झडपमा कांग्रेसका वडा सभापति सूर्यप्रकाश मल्लसहित चार जना घाइते भएको कांग्रेस जिल्ला उपसभापति हर्कसिंह खत्रीले बताएका छन्।
दुई पक्षबीच भएको झडपमा मल्लसहित मित्रलाल ओली, राजेश केसी र हुपजङ्ग बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिएका छन्।
त्यस्तै, सोमबार राति नै रोल्पाको गंगादेव गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताको खुकुरी प्रहारबाट नेपाली कांग्रेसका दुई जना कार्यकर्ता गम्भीर घाइते भएका छन्।
गंगादेव गाउँपालिका–५ का माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मानबहादुर डाँगीको निर्देशनमा स्थानीय ‘गुण्डा’ को रुपमा परिचित राजेन्द्र परियार, नवराज महर र प्रकाश केसीको समूहले खुकुरी प्रहार गरेका हुन्।
खुकुरी प्रहारबाट कांग्रेसनिकट तरूण दलका वडाध्यक्ष मनबहादुर बुढा र कमल बुढा गम्भीर घाइते भएका छन्। उनीहरूको अहिले नेपालगञ्जमा उपचार भइरहेको स्थानीय कमल हमालले जनाएका छन्।
माओवादी नेत्री तथा पूर्वसभामुख ओनसरी घर्ती एक हप्तादेखि गंगादेव रहेको बेलामा गंगादेवमा खुकुरी प्रहारको घटना भएको कांग्रेसीहरूले बताएका हुन्।
यसैगरी आइतबार राति रुकुम पश्चिमको चौरजहारी र आठबिसकोट नगरपालिकामा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ।
झडपमा दुई जना प्रहरीसहित दश जना घाइते भएका छन्। उनीहरूको अहिले पनि उपचार भइरहेको छ। अस्थायी प्रहरी पोष्ट स्यालाखदीका अनुसार आठबिसकोट नगरपालिका–३ खदीमा दुई पक्षबीच भएको झगडा मिलाउने क्रममा दुई जना प्रहरी जवान बुद्धबहादुर थापा र चक्रबहादुर रोकाया घाइते भएका हुन्।
यस्तै माओवादी केन्द्र र कांग्रेसका गरी वडाध्यक्षका उम्मेदवारसहित पाँच जना घाइते भएका छन्। माओवादी केन्द्रका वडाध्यक्षको उम्मेदवार केशरमान विक तथा कार्यकर्ता तुलबहादुर विक र सन्तोष विक घाइते भएका छन्। त्यसैगरी नेपाली कांग्रेसका आठबिसकोट–३ का सीता बोहरा र डिल्लीराज बोहरा घाइते भएका छन्।
०००
गत बुधबार रोल्पाको माडी गाउँपालिकामा कांग्रेसका उम्मेदवारमाथि आक्रमण भएको छ। नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य हरिप्रसाद घर्तीको अगुवाइमा वडाध्यक्षका उम्मेदवार निमबहादुर डाँगीमाथि आक्रमण भएको स्थानीयले बताएका छन्। उनी अहिले पनि उपचाररत छन्।
माडी गाउँपालिका–३ तालाबाङका कांग्रेसका वडाध्यक्ष उम्मेदवार डाँगीमाथि समाजवादीका नेताको योजनामा माओवादीनिकट वाइसीएलले आक्रमण गरेको थियो।
चुनावी प्रचारप्रसार सम्पन्न गरेर घर फर्कँदै गर्दा माओवादी कार्यकर्ताले आफूमाथि आक्रमण गरेको उम्मेदवार डाँगी बताउँछन्। वाइसीएलले प्रहार गरेको ढुँगा र लाठीले डाँगीको टाउकोमा गम्भीर चोट लागेको छ।
०००
चौरजहारीमा हप्ता दिनअघि नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। चौरजहारी नगरपालिका–१ घारीगाउँमा दुई पक्षबीच भएको झपडमा कांग्रेसका वडा सभापतिसहित तीन जना घाइते भएका छन्।
वडा सभापति यज्ञश विष्ट, तरुण दल चौरजहारीका अध्यक्ष त्रिलोचन गिरी र कांग्रेस कार्यकर्ता मनबहादुर विक घाइते भएका छन्। थप उपचारको लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।
रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। त्रिवेणी गाउँपालिका वडानम्बर ९ नुवाकोटमा बिहीबार कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको हो। झडपका क्रममा कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार चढेको गाडीमा तोडफोड भएको छ।
अध्यक्ष पदका उम्मेदवार अमरसिंह खड्का चढेको रा १ च १२६२ नम्बरको जीप तोडफोड भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले नुवाकोट प्रहरी चौकीमा थोरै जनशक्ति भएका कारण झडप नियन्त्रणमा लिन गाह्रो भएको बताएका छन्।
०००
रोल्पा–रुकुममा दैनिकजसो कांग्रेस कार्यकर्तामाथि माओवादी केन्द्रका कार्यकर्ताहरू जाइलाग्न गरेका छन्। दिनदिनै भइरहेको हिंसात्मक घटनाले रोल्पा–रुकुममा आम मतदताहरू त्रसित छन्।
यी जिल्लाका नागरिकले २६ वर्षदेखि माओवादीको डर, त्रास र आतंक भोगिरहेको नेपाली कांग्रेस रोल्पाका उपसभापति हरिबहादुर पुन बताउँछन्।
रोल्पाका वर्षमान पुन र रुकुमका जनार्दन शर्मा पटकपटक सत्तामा पुगेपनि गाउँ–ठाउँमा राजनीतिक हिंसा गर्न नछाडेको कांग्रेसीहरूले बताएका छन्।
यसो त यसपटक जनार्दन शर्मा नै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामेल छन्। तर रोल्पा–रुकुममा भने माओवादी कार्यकर्ताबाट नै कांग्रेसी कार्याकर्ताहरू दिनदिनै कुटिरहेका छन्।