तुलसीपुर उपमहानगर : कांग्रेसलाई ३० वर्षपछि आफ्नो विरासत फर्काउने अवसर

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा यसको रौनक देशभर छ। कहाँ कसले जित्ने भन्ने विभिन्न अनुमानहरु भइरहेको छ। दाङमा दुई उपमहानगरपालिका घोराही र तुलसीपुर रहेकाले अझ विशेष रुपमा हेरिएको छ।

तुलसीपुरमा गठबन्धनसँगै विभिन्न राजनीतिक दललहरुले नेतृत्वका लागि उम्मेदवारी दिएका छन्। विभिन्न राजनीतिक दलहरुले उम्मेदवारी दिएपनि सत्ता गठबन्धन र एमालेबीच चुनावी प्रतिस्पर्धा हुने देखिन्छ।

तुलसीपुरको प्रमुखमा गठबन्धनबाट कांग्रेसका गेहेन्द्र गिरी र उपप्रमुखमा एकीकृत समाजवादी पार्टीबाट जोगबहादुर राना उम्मेदवार छन्। एमालेबाट प्रमुखमा टिकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी उम्मेदवार छन्।

राजनीतिक वृत्तमा गठबन्धनबाट उम्मेदवार भएका र एमालेबाट उम्मेदवार भएकाबीच प्रतिस्पर्धा तीव्र हुने आँकलन भइरहेको छ। अघिल्लो ०७४ को निर्वाचनको नतिजालाई हेरेर गठबन्धन आफूहरुले जित्नेमा ढुक्क जस्तै देखिन्छ।

गठबन्धन गरेर तुलसीपुरमा कांग्रेसले ३० वर्षपछि आफ्नो विरासत फर्काउने कोशिसमा छ। पञ्चायतपछि ०४९ मा भएको स्थानीय निर्वाचनमा कांग्रेसका शंकर आचार्यले जितेका थिए। त्यसपछि दुई पटक भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले तुलसीपुरमा हार बेहोरेको थियो।

एमालेले भने ०५४ मा र ०७४ मा तुलसीपुरको प्रमुख हात पारेको थियो। ०५४ मा एमालेका ढुण्डीराज लामिछानेले जितेका थिए। लामिछानेले त्यस समयमा ०४९ मा जितेका कांग्रेसका आचार्यलाई हराएका थिए।

०७४ मा एमालेका घनश्याम पाण्डेले जितेका थिए। उनी ०५४ को निर्वाचनमा तुलसीपुरको उपप्रमुख भएका थिए। ०७४ मा पाण्डेले कांग्रेसका गेहेन्द्र गिरी (हालका मेयरका उम्मेदवार) लाई हराएका थिए।

दुई पटक जितेको एमालेले यस पकट पनि आफ्नो साख जोगाउन जित्ने कोशिस गरिहेको छ। तुलसीपुर एमालेका महासचिव शंकर पोखरेलेको पनि गृह क्षेत्र हो। तुलसीपुरमा एमालेले जित्नुलाई पोखरेलको प्रतिष्ठासँग पनि हेरिन्छ।

तुलसीपुर कांग्रेसका नेता तथा पूर्व मन्त्री दिपक गिरीको पनि निर्वाचन क्षेत्र हो। त्यसैले पनि यस पटकको निर्वाचनमा कांग्रेस गठबन्धन गरेरै भएपनि आफ्नो विरासत फर्काउने कोशिसमा छ।

गठबन्धनमा अन्तरघात नभएमा कांग्रेसबाट उम्मेदवार बनेका गिरीले जित्ने निश्चित नै रहेको कांग्रेस नेताहरु बताउँछन्। एमाले भने आफूहरुले बलियो उम्मेदवार उठाएको भन्दै जनताले आफ्नो पार्टीलाई भोट दिने दाबी गर्छन्।

०७४ को निर्वाचनमा आएको मतले पनि गठबन्धनले जित्ने ढुक्क जस्तै देखिन्छ। ०७४ मा एमालेबाट उम्मेदवार बनेका पाण्डेले २२ हजार ८५७ मत प्राप्त गर्दै तुलसीपुरको नेतृत्व गर्ने अवसर पाएका थिए। पाण्डेले कांग्रेसका गेहेन्द्र गिरी (हालका मेयर पदका उम्मेदवार) लाई हराएका थिए। गिरीले १८ हजार ९०३ मत प्राप्त गरेका थिए।

प्रतिस्पर्धामा तेस्रो बनेका नेकपा माओवादी केन्द्रका उम्मेदवार शेषुराम भण्डारीले ८ हजार ६९३ मत प्राप्त गरेका थिए। एमालेले ९ वडा र कांग्रेसले १० वडा जित्दा माओवादीले एउटा पनि वडा जित्न सकेको थिएन।

यही मतलाई आधार मानेर तुलसीपुरको भावी नेतृत्वका लागि विभिन्न विश्लेषण हुने गरेको छ। ०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसभित्र भएको अन्तरघातको कारण हार व्यहोर्नुपरेको कांग्रेसका नेताहरुको बुझाई छ। ‘अघिल्लो निर्वाचनमा कांग्रेस एकजुट भएको भए जित निश्चित थियो’ कांग्रेसका एक नेताले भने, ‘हाम्रो संगठन बलियो हुँदाहुँदै पनि हार व्यहोर्नुपर्यो।’

कांग्रेससँगै सत्ता गठबन्धनका दलहरु नै इमान्दार भएमात्र जित निश्चित हुने गठबन्धनका नेताहरुको ठहर छ। एमाल भने सर्वहारा नेताका रूपमा परिचित खड्का उम्मेदवार भएकाले जित्ने दाबी गर्छ। जीवनभर राजनीति गरेका खड्काले हालसम्म लाभको पद नपाएका कारण उनलाई सहानुभूतिको भोट आउनसक्ने एमालेको अनुमान छ।

उम्मेदवार बलियो भएकाले सत्ता गठबन्धनको मतसमेत आफूहरुलाई आउने एमाले नेता हुकुम बस्नेत बताउँछन्। ‘तुलसीपुरमा एमालेको आफैंमा बलियो संगठन बन्दै गइरहेको छ,’ उनले भने, ‘अहिलेका उम्मेदवार (टीकाराम खड्का) इमान्दार नेता हुनुहुन्छ, गठबन्धनको मतसमेत उहाँलाई आउने देखिन्छ।’

एमालेले घोराही जस्तै तुलसीपुरमा पनि थारु समुदायबाट जातीय भोट तान्ने रणनीति बनाएको छ। चौधरी समुदायको बाहुल्य रहेको तुलसीपुरमा एमालेले स्यानी चौधरीलाई उपमेयरको टिकट दिएको छ।

स्यानी कुनै राजनीतिक पृष्ठभूमिबाट आएकी होइनन्। उनी तुलसीपुरमा अनाथ बालबालिकाका लागि ‘दिदी घर’ नामक सामाजिक संस्था चलाउँदै आएकी छिन्।

चुनावमा जातीय भोट निर्णायक हुने भएकाले एमालेले स्यानीलाई अघि सारेको देखिन्छ। तुलसीपुर उपमहानगरमा १ लाख ७ हजार ६७७ मतदाता छन्।

प्रकाशित मिति: : 2022-05-09 14:06:00

प्रतिकृया दिनुहोस्