नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै गाउँपालिकामा एक्लिएका छन्। डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेस (वीपी) र नेकपा एमालेले तालमेल गरेपछि कांग्रेस एक्लिएकाे हाे। गठबन्धनका अन्य दलहरू एक्ला एक्लै चुनावमा जाने भएका छन्।
देउवाको गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार इन्द्रबहादुर कार्की छन्। एमाले-वीपी (कांग्रेस) गठबन्धनले अध्यक्षमा करुवा चिन्ह लिएर सुरेन्द्रबहादुर ओलीलाई उठाएको छ। माओवादी केन्द, नेकपा (एस), राप्रपा र जनमोर्चाबाट पनि एक्ला एक्लै उम्मेदवार उठेका छन्।
अहिले देशभरमा नेपाली कांग्रस, माओवादी केन्द्र, नेकपा (एस), जनता समाजवादी पार्टी र राष्टिय जनमोर्चाको ५ दलीय गठबन्धन गरेर कांग्रेस चुनावमा होमिएको छ तर देउवाकै गाउँपालिकामा गठबन्धन नभएको र सबै एक्लै लड्न लागेका हुन्।
वीपी कांग्रेस र एमालेको गठबन्धनबाट करुवा चिन्हसहित सुरेन्द्रबहादुर ओली, माओवादीको तर्फबाट चक्र मल्ल, नेकपा एसको तर्फबाट नरबहादुर विष्ट, राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट कृष्णदेव भट्ट र राष्टिय जनमोर्चाको तर्फबाट टंकप्रसाद अवस्थी उम्मेदवार छन्।
यसले गर्दा देउवाकै गाउँपालिकामा नेपाली कांग्रेस कमजोर देखिएको छ। २०७४ सालको स्थानीय चुनावमा नेपाली कांग्रेसले अध्यक्षसहित ३ वटा वडा मात्रै जितेको थियो। माओवादी केन्द्र र एमालेले १/१ वडा जितेका थिए।
गन्यापधुरा वडा नम्बर १ का निवर्तमान वडाध्यक्ष चेतबहादुर भट्टले प्रधामन्त्री देउवाले भेटेर उनीहरुलाई अनुरोध गरे नेपाली कांग्रेसमा फर्किने बताए।
‘वीपी भनेर गएकाहरु देउवा जीले भेटेर फर्क भन्नुभयो भने सबै फर्किन्छन्। उहाँले वास्ता नगरेकै कारण फुटेर गएका हुन्’, वडाध्यक्ष भट्टले भने।
नेपाली कांग्रेसबाट रुष्ट भएर वीपी बनेका उनीहरुले देउवाको गाउँपालिकामा धेरै भोट काट्ने आँकलन कांग्रेसकै स्थानीय नेताहरुको छ।
त्यतिमात्र होइन, डडेलधुराको नगरपालिका अमरगढीमा पनि कांग्रेस एक्लै भएको छ। नेकपा एकीकृत समाजवादी (एस), वीपी कांग्रेस र एमालेको तालमेल भएकाे छ भने नेपाली कांग्रेस एक्लै उभिएकाे छ।
समाजवादीबाट उठेकी संगीता भण्डारीको बलियो मत देखिएको छ। अघिल्लो स्थानीय तहमा एमालेबाट उपमेयर भएकी उनी अहिले समाजवादीबाट उठेकी हुन्। यहाँ वीपी कांग्रेस र एमालेको गठबन्धनबाट उम्मेदवार भएका हरि भट्ट पनि बलिया छन्। कांग्रेसका डिल्लीराज जोसी भने कमजोर उम्मेदवारको रुपमा देखिएका छन्।
स्थानीय मतादाताका अनुसार नरपालिकामा नेकपा एसकी संगीताको काम र समाज सेवाका कारणले जित्ने दावी गरिरहेका छन् भने बलियो रहेको वीपी कांग्रेसले एमालेको साथ पाएकाले ‘टफ’ प्रतिस्पर्धा हुने देखिएको छ।