नेपालगञ्ज अत्यधिक गर्मी हुने शहर हो। यहाँ गर्मीसंगै लामखुट्टे बिगबिगी रहेको छ। यो मुद्दा अहिले यो चुनावी मुद्दा बन्ने गरेको छैन। यद्यपि नेपालगञ्जबासीका लागि ठूलो समस्याको रुपमा रहेको छ।
लामखुट्टेका कारणले डेंगु, मलेरिया, चिकुनगुनिया, जापानीज इन्सेफ्लाइटिस जस्ता रोग लाग्ने गरेको छ। नेपालगञ्जवासीका लागि यी रोगहरु जनस्वास्थ्य समस्या हुन्। यति ठूलो जनस्वास्थ्य समस्या निम्त्याउने लामखुट्टे नियन्त्रणका बारेमा अरु उम्मेदवारले मुद्दा बनाउने गरेका छैनन्।
तर, नेकपा एमालेबाट उम्मेदवार बनेका पशुपतिदलाय मिश्रले भने लामखुट्टे नियन्त्रणको मुद्दालाई उठाएका छन्। मिश्रले लामखुट्टे नियन्त्रण र त्यसबाट निम्तिएको जनस्वास्थ्य समस्यालाई नियन्त्रण गर्ने रणनीति अघि सारेका छन्।
सफा शहरको योजना मिश्रले अगाडि सारेका छन्। ‘लामखुट्टे नियन्त्रण गर्नका लागि सरसफाई अपरिहार्य हुन्छ। नेपालगञ्जलाई सफा शहर बनाउन सक्दा केही हदसम्म लामखुट्टे नियन्त्रण गर्न सकिन्छ। इच्छाशक्ति चाहिन्छ यो काम गर्न। हामीसंग त्यो इच्छाशक्ति छ। ढुक्क हुनुहोस् हामी त्यो काम गर्छौ’, मिश्रले भने।