मुस्लिम समुदायले ईद मनाउँदै (फाेटाे फिचर)

[Abdelhakim Abu Riash/Al Jazeera]

रमदान (रमजान) महिना सकिएको खुसियालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी इदुलफित्र (ईद) मनाउँदैछन्।

नेपाल सरकारले वैशाख २० गते मङ्लवार नेपालमा इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व ईदको अवसरमा बिदा घोषणा गरेको छ। अफगानिस्तानमा आइतबार र साउदी अरबमा साेमबार नै ईद मनाइएको छ। भारतमा पनि नेपालमा जस्तै मङ्लबार ईद मनाइँदै छ।

ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो। ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ।

हिजरी संवतको रमदान महिनाभर (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन्। चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि शुरू हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ।

फरक–फरक भूगोल विशेषमा ईदको दिन विगतदेखि नै फरक पर्दै आएको छ। तोकिएका क्षेत्रका मुख्य मौलाना (धर्माधिकारी)ले चन्द्रमा देखिएको घोषणा गरेर भोलिपल्ट ईद मनाउन आह्वान गरेपछि पर्व मनाइने हुँदा कहिलेकहीँ फरक–फरक क्षेत्रमा दिन फरक पर्ने गरेको छ।

ईद पर्वमा अल्लाह (भगवान्) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ। ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सद्विचार र सत्कर्ममा रहन प्रेरित गर्छन्। धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र मिष्ठान्न परिकार खाने–खुवाउने चलन छ।

प्रकाशित मिति: : 2022-05-03 05:57:00

प्रतिकृया दिनुहोस्