सशस्त्र प्रहरीले रौतहट ईशनाथ नगरपालिकाबाट स्रोत नखुलेको करिब साढे १६ लाख रकमसहित दुई जनालाई पक्राउ गरेको छ।
ईशनाथ नगरपालिका-४ महुलिया स्थित सडक खण्डमा चेकप्वाईन्ट राखेर आवतजावत गर्ने सवारी साधन तथा पैदल यात्रीहरूलाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम बरामद भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
सशस्त्र प्रहरी बल मठियाको टोलीले राजपुर नगरपालिका-४ बस्ने ४० वर्षीय शिवमंगल साह र २३ वर्षीय प्रवेज आलमलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट स्रोत खुलाउन नसकेको १६ लाख ४९ हजार २ सय नेपाली रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईंले जानकारी दिए।
भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०३३प ९३०८ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा रकम बरामद भएको उनले जानकारी दिए।
उनका अनुसार सशस्त्र र नेपाल प्रहरीले पछिल्लो ६ महिनाको अवधिमा एक करोड बढी स्रोत नखुलेको रकम बरामद गरिसकेको छ।
पछिल्लो तथ्यांक हेर्दा रौतहटको सीमावर्ती क्षेत्रमा हुण्डी कारोबार मौलाएको देखिन्छ। अवैधानिक मानिएको यस कार्य लुकिछुपी गर्ने समुह नै सक्रिय भएकाले यसतर्फ सरोकारवाला निकायले ध्यान दिनुपर्ने स्थानीयवासीको माग छ।
नेपालमा हुन्डी मार्फत् रकमान्तर गर्नु वा विप्रेषण गर्नु गैरकानुनी कार्य मानिएको छ। हुण्डी कारोबारलाई निरुत्साहित गर्न सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले निगरानी बढाउँदै आएको छ।