११ हजार भोल्टको करेन्ट लागेर युवकको मृत्यु

रौतहटको जयनगरमा विद्युतीय करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। ११ हजार भोल्टको करेन्ट लागेर २५ वर्षीय रामजी साहको मृत्यु भएको हो।

विद्युतीय करेन्ट लागेर अचेत भएका साहलाई गरुडामा सामान्य उपचारपछि थप उपचारको लागि एम्बुलेन्सबाट वीरगन्जस्थित गण्डक अस्पताल लगिएको थियो।

गण्डक अस्पतालका डाक्टरले साहलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक ओम प्रकाश यादवले बताए। उनका अनुसार मृतक साहको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्जमा राखिएको छ।

मृतक साह गरुडा नगरपालिकामा कार्यरत करारका अमिन हुन्। गरुडा नगरपालिकाको जयनगरमा निर्माणाधीन एक सार्वजनिक घरको नापी गर्न गएको क्रममा घरको छतबाट फोन गर्ने क्रममा भुलवश तार छुँदा साहलाई करेन्ट लागेको अनुमान गरिएको प्रहरीले बताएको छ।

पालिकाको कर्मचारी साहको निधनले स्तव्ध भएको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि जैसवालले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

प्रकाशित मिति: : 2025-02-01 17:26:00

प्रतिकृया दिनुहोस्