दाङमा ७ पालिका प्रमुखसहित २१० जनाको उम्मेदवारी  फिर्ता (नामावलीसहित) 

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दाङमा ७ जना पालिका प्रमुखसहित २१०  जनाले उम्मेदवारी फिर्ता लिएका छन्। जसमा उपमहानगरका प्रमुखसहित गाउँपालिका अध्यक्ष रहेका छन्। 

प्रदेश निर्वाचन कार्यालय दाङले पछिल्लो अपडेट गाराउँदै तुलसीपुर उपमहानगरपालिकाबाट प्रमुखमा उम्मेदवारी दिएका धर्मराज जैसी (पाण्डेय) र घोराहीको प्रमुखमा उम्मेदवारी  दिएका श्रीमन न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्। यी दुबै जना स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए। 

यस्तै तुलसीपुरमा उपप्रमुख पदका लागि माओवादी केन्द्रबाट बागी उमेदवारी दिएकी मनकुमारी महतले पनि आफ्नो उमेदवारी फिर्ता लिएकी छन्।

त्यस्तै स्वतन्त्रबाट दंगीशरण गाउँपालिकाका अध्यक्षमा उम्मेदवारी दिएका कष्णबहादुर चौधरी, कर्णबहादुर खत्री तथा एकीकृत समाजवादीका जोतिप्रसाद चौधरीले फिर्ता लिएका छन्।

एकीकृत समाजवादीबाट राप्ती गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएकी सीता नेपाली, राजपुर गाउँपालिकामा स्वतन्त्रबाट अध्यक्षमा उम्मेदवारी दिएका सूर्यबहादुर यादवले उम्मेदवारी फिर्ता लिएका छन्।

प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रमुख पदमा उमेदवरी दिएका ७ जना, उपप्रमुख पदमा उमेदवारी दिएका ३ जना, वडा अध्यक्ष पदमा उमेदवारी दिएका ४९ जना, खुल्ला वडासदस्य पदमा उमेदवारी दिएका ९१ जना, महिला सदस्य पदमा उमेदवारी दिएका ३५ जना, दलित महिला सदस्य पदमा उमेदवारी दिएका २५ जना गरि २१० जनाले फिर्ता लिएका छन्।  

दाङका दश पालिकामध्ये तुलसीपुरबाट सबैभन्दा धेरैले उमेदवारी फिर्ता लिएका छन्। तुलसीपुरमा उमेदवारी दिएकामध्ये १३० जनाले उमेदवारी फिर्ता लिएका छन्। 

घोराहीमा  १८ जनाले उमेदवारी फिर्ता लिएका छन्। लमहीमा ९ जना, राप्ती गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार सीता नेपालीसहित ९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। 

यस्तै गढवामा ८, दंगिशरणमा १३, बंगलाचुीमा १, बबईमा १४, राजपुर र शान्तिनगरमा ५ जनाले उमेदवारी फिर्ता लिएको प्रदेश निर्वाचन कार्यालय दाङका सुचना अधिकारी गेहेन्द्र कुँवरले बताए।

दाङमा पार्टी र स्वतन्त्र गरि २ हजार ४ सय १२ जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका थिए। विभिन्न पदमा उमेदवारी दिएका २ हजार २०२ जनाको अन्तिम नामावली सार्वजनिक गरिएको छ।  दाङमा ४ लाख ४ हजार ९ सय जना मतदाता रहेका छन्।

१५३ मतदान स्थल र ४६१ मतदान केन्द्र तोकिएको छ। निर्वाचका लागि ३ हजार सुरक्षाकर्मी परिचालन हुने छन्। स्वतन्त्ररुपमा उमेदवारी दिएका र साना दलका उमेदवारलाई आजमात्रै चुनाव चिन्ह प्रदान गरिने भएको छ।

प्रकाशित मिति: : 2022-04-30 09:24:00

प्रतिकृया दिनुहोस्