देशको ६ वटा महानगरपालिकामध्ये पोखरा महानगरपालिका चर्चामा छ। गण्डकी प्रदेशको राजधानीसमेत रहेको यो महानगरपालिकामा पाँचदलीय गठबन्धनको तर्फबाट धनराज आचार्य प्रमुख पदका उम्मेदवार छन्। उनी गठबन्धनको एउटा दल एकीकृत समाजवादीका नेता हुन्।
उनले बिहीबार संयुक्त चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। उनै आचार्यसँग सार्वजनिक भएको घोषणापत्र, गठबन्धनको पोखरामा स्थितिलगायतबारे केन्द्रित भएर गरिएको कुराकानीको सम्पादित अंश:
पोखरा महानगरपालिका प्रमुखमा एमालेबाट कृष्ण थापा बलियो प्रतिस्पर्धी हुनुहुन्छ। निर्वाचन जित्नुहुन्छ?
जित्छु। नजित्नु पर्ने के नै छ र? म त पाँच दलको साझा उम्मेदवार हुँ। म प्रमुख पदको उम्मेदवार छु। उपप्रमुखमा नेपाली कांग्रेसकी कोपिला रानाभाटजी हुनुहुन्छ। हाम्राविरुद्ध कोही पनि बागी छैनन्।
कांग्रेसबाटै तीन जना हुनुहुन्छ नि?
हुन त पोखरामा १२ जना हुनुहुन्छ स्वतन्त्र उम्मेदवार। उहाँहरूमध्ये अधिकांशले आज उम्मेदवारी फिर्ता लिनुहुन्छ। त्यसो भएकाले तीनजना साथीको उम्मेदवारीले खासै फरक पर्दैन।
२०७४ सालमा भएको स्थानीय निर्वाचनमा पोखरामा एमालेका उम्मेदवार र कांग्रेस उम्मेदवारबीचको मतान्तर १४ हजार थियो। यसलाई आधार मान्ने हो भने तपाईंलाई त जित्न मुस्किल छैन र ?
जति मतान्तरले जित भयो पहिले, अहिले गठबन्धन गर्दा त्यो भन्दा बढी मतान्तरले अघि छौं। पहिले भएको मतान्तर ठूलो कुरा होइन।
तपाईंहरूले जारी गर्नु भएको संयुक्त घोषणापत्रमा ‘सम्मुनत पोखराको आधार, सफल अर्थतन्त्र पूर्वाधार’ नारा रहेछ। तपाईंले जितेको अवस्थामा कसरी पोखरा समुन्नत हुन्छ ?
पहिलो त यो नारासँग पोखराको समृद्धिको चित्र छ। पोखरेलीलाई समृद्ध नबनाइ हुँदैन भन्ने हाम्रो बुझाइ हो। यसका लागि पोखरेलीको आर्थिक, सामाजिक स्थितिसँगै अहिलेको पूर्वाधार, जनसंख्या र अबको १० वर्षपछिको पोखराको सम्भावित जनसंख्यालाई आधार मानेर हामी अल्पकालीन र दीर्घकालीन योजना बनाउँछौँ।
महानगरमा यसअघि पनि थुप्रै योजना नबनेका होइनन्। गुरुयोजना पनि बनेका छन् तर ती कार्यान्वयनमा गएको देखिएन। यस हिसाबले हामी सम्मुनत पोखरा बनाउन प्राथमिकता तोकेरै पहिलो तीन महिनाका के काम गर्छौं ? ६ महिनामा के गर्छौं ? त्यस्तै, एक वर्षमा, दुई वर्षमा हुँदै पाँच वर्षमा के-के गर्न सक्छौं ? स्पष्ट रूपमा उल्लेख गरेका छौं। र, यो पोखरालाई सिंगो रूपमा प्रतिनिधित्व गर्ने ‘सिग्नेचर प्रोजेक्ट’ पनि घोषणापत्रमा राखेका छौं।
घोषणापत्रमा भनिएका कार्यक्रम कार्यान्वयन हुन्छ ? मतदाता त नेताहरूले मत माग्दा ‘गर्छु’ भन्छन्, पछि ‘गर्दैनन्’ भन्छन् नि?
मैले सुनाउन मात्र भन्ने होइन, काम गर्न भन्ने हो। इच्छाशक्तिका साथ कर्तव्यनिष्ठ भएर जनताको पक्षमा काम गर्न हामी चाहन्छौं। हामी पोखराको सर्वाङ्गिण विकासका लागि काम गर्छौं।
यहाँ भएको पृथ्वीनारायण क्याम्पस, पोखरा विश्वविद्यालयलगायतलाई समेत थप सुविधा सम्पन्न र विकसित बनाउँदै पोखरालाई शिक्षा, स्वास्थ्य र खेलकुदको महत्वपूर्ण ‘हब’ बनाउने गरी अघि बढ्छौं। त्यसका लागि पनि कतिपय पूर्वाधार हामीले तयार गर्नुपर्छ। र, पहिले घोषणापत्र लेखिने गरिन्थ्यो, हामीले चाहिँ भोलि काम गर्नेगरी लेखेका छौं। त्यसकारणले हामीलाई विश्वास गरिदिनु हुन मतदाताहरूलाई आग्रह छ।